कात्तिक मसान्तसम्म निर्माण कार्यको काम असम्भव: निर्माण व्यवसायी महासंघ

 अर्थबुलेटिन संवाददाता   २ जेठ, २०७७



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विश्वव्यापी महामारीको रुपमा रहेको कोराना भाइरस (कोभिड–१९) का कारण २०७७ कात्तिक मसान्त सम्म निर्माण कार्यहरु अगाडि बढाउन नसकिने जनाएको छ ।

महासंघ स्थायी समितिको विहिवारको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा कोराना महामारीसँगसँगै देखिएका विविध जटिलताका कारण हाल निर्माण कार्य गर्न नसकिने उल्लेख छ ।


महासंघले २०७६ चैत्र देखि २०७७ कात्र्तिक सम्म निर्माण कार्य हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामहरुको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ । व्यवसायीहरुले लकडाउनको असहज परिस्थितिबीच पनि केही निर्माण स्थलमा सिमित जनशक्ति, निर्माण सामग्री र उपकरणहरु पु¥याएको महासंघले जनाएको छ । 

थप जनशक्ति र उपकरणहरु पु¥याउने तयारीमा रहेको अवस्थामा असहज आवागमनका कारण आयोजनाहरुको निर्माण कार्यको निरन्तरता हुन नसक्ने महासंघको विज्ञप्तिमा उल्लेख छ । 

जटिल परिस्थितिबीच त्यस्ता आयोजनाहरुलाई निरन्तरता दिएमा पनि आयोजनाको लागत अत्याधिक थप हुन गई साविकको लागतमा कार्य सम्पन्न गर्न नसकिने देखिएको हुँदा थप लागत समावेश गर्न र ती आयोजनाहरुको कार्य हुन नसकेको अवधिको ओभरहेड स्वतः समावेश गरिदिने व्यवस्थाका लागि महासंघले अनुरोध गरेको छ । विकास निर्माणका कार्यहरुको निरन्तरताको लागि राज्यका संयन्त्रहरु बीच स्पष्ट र प्रभावकारी समन्वय सहित स्पष्ट नीति निर्देशन जरुरी रहेको महासंघको ठहर छ ।


एकातिर केही सार्वजनिक निकायहरुले लकडाउन कायमै रहेको समयमा निर्माण व्यवसायीहरुलाई कामको निरन्तरताका लागि पत्राचार गर्ने गरेको तर गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सवारी पासहरु रद्द गरिसकेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाको महामारी फैलिएसँगै श्रमिक, प्राविधिक र अन्य जनशक्ति आ–आफ्नो घर तर्फ गई खेतीपातीको काममा व्यस्त भैसकेका र दशैं तिहार, छठ चाडपर्व अगाडिसम्म श्रमिकहरु काममा फर्कन नसक्ने महासंघले जनाएको छ ।

निर्माण सामग्री सप्लायर्सहरु बन्द हुने, नेपालमा प्रयोग हुने अधिकांश निर्माण समाग्री (ढुंगागिट्टी, बालुवा, सिमेन्ट बाहेक) का कच्चा पदार्थहरु भारत, चीन लगायतका अन्य देशहरुबाट आयात हुने गरेको हुँदा ती समाग्रीहरु आयात गर्ने उपयुक्त वातावरण नबनेसम्म विकास निर्माणका काम गर्न नसकिने महासंघले जनाएको छ ।


अहिलेको विषम परिस्थितिमा अति आवश्यक सेवा तथा कोभिड–१९ को नियन्त्रण तथा रोकथामसँग सम्बन्धित पुर्वाधार निर्माणका कार्यहरु बाहेक विकास निर्माणसँग सम्बन्धित् सम्पूर्ण कार्यहरुको निरन्तरता दिन नसकिने हुँदा सोही बमोजिम नेपाल सरकारबाट आवश्यक स्पष्ट नीतिगत निर्णयका लागि महासंघले विज्ञप्तिमा मार्फत अनुरोध गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation