बडादशैँको आज सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै

 अर्थबुलेटिन संवाददाता   ७ कार्तिक, २०७७



काठमाडौँ । बडादशैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन फूलपाती । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागिएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने जनाइएको छ ।

राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुँदै आएका छन् ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै


यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम


जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता


प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने


सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण


एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार


तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित


प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation