मध्यरातिबाट क्लिन फिड लागू, अधिकांश विदेशी च्यानलको प्रसारण बन्द

 अर्थबुलेटिन संवाददाता   ८ कार्तिक, २०७७



काठमाडौँ । शुक्रबार मध्यरातिबाट क्लिन फिड लागू भएसँगै अधिकांश विदेशी च्यानलको प्रसारण बन्द भएको छ । नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग भएको र च्यानल क्लिन फिडमा उपलब्ध नगराएले अधिकांश च्यानलको प्रसारण रोकिएको हो ।

अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन विदेशी विज्ञापनरहित नभएसम्म प्रसारण हुने छैनन् । भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु मात्र विज्ञापन रहित भएर आएकाले प्रशारण भइरहेका छन् ।

शुक्रबार रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरीलगायतका च्यानलहरु नेपालमा बन्द छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।

यस्तै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रसारण रोकिएको डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए । क्लिन फिडका लागि आवश्यक सामग्री रोकिँदा हाल सर्भिस दिन नसकिएको तर, दशैँ लगत्तै यी च्यानलको पूनः प्रसारण हुने जनाइएको छ ।

यी च्यानल बन्द भएपछि हाल चलिरहेका इन्डियन प्रिमियर लिग (आइपिएल) र इंग्लिस प्रियमियर लिग (इपिएल) पनि नेपालमा हेर्न पाइने छैन । विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो ।

त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समयदेखि सरोकारवालहरुलाई कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्नुपर्न भन्दै निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन र कानूनी प्रावधानका आधारमा आजबाट क्लिन फिड लागू भएको हो । क्लिन फिडको अनुगमनका लागि मन्त्रालयले विज्ञापन बोर्ड पनि गठन गरेको छ । क्लिन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार ३ देखी ४ अर्ब रूपैयाँले बढ्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation