सरकार र विप्लव समूहबीच दुई चरण छलफल, वार्ता निष्कर्ष नजिक

 अर्थबुलेटिन संवाददाता   १९ फागुन, २०७७



काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीबीच  दुई चरणमा छलफल भएको हो ।


सरकारी  वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले  वार्ता सकारात्मक रहेको जनाएका छन् ।


‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाको वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषयकेन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ भट्टराईले ट्विटरमा लेखेका छन् ।

शान्तिपूर्ण राजनीतिमा आउन तयार भए विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाउने सरकारको तयारी रहेको स्रोतको दाबी छ ।

वार्ता टोलीमा सरकारी पक्षबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहका तर्फबाट संयोजक विश्वकर्मा र सदस्य उदय चलाउने छन् ।  सरकारले २०७५ फागुन २५ गते विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation