आज महाशिवरात्रि पर्व, कस्तो छ ट्राफिक व्यवस्थापन ?

 अर्थबुलेटिन संवाददाता   २७ फागुन, २०७७



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरूको भीडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाउनुका साथै विभिन्न नाका भई भित्रिने भक्तजनहरूको लागि छुट्टा छुट्टै स्थानमा पार्किङको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ ।

 धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको व्यबस्था मिलाइएको साथै पार्किङ गर्ने स्थानहरु समेत तोकिएको महाशाखाको भनाइ छ ।

नियमित जस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ । तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण संचालन गर्न नसक्ने अबस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरि बैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइने समेत जानकारी दिए ।

मालबाहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने , सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्ध तर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई बनकाली खुल्ला चौर, सिफलचौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र बन काली भित्र राखिने छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरी पारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अबस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातो पुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation