फुटको सँघारमा एमालेः समानान्तर कमिटी बनाउने नेपाल पक्षको निर्णय

 अर्थबुलेटिन संवाददाता   २९ फागुन, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले फुटको सँघारमा पुगेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेसँगै एमाले फुटको सँघारमा पुगेको हो ।  एमालेमा माधव नेपाल समूहले पार्टी फुटाउने उद्देश्य साथ ओलीले कदम चालेको भन्दै समानान्तर कमिटी बनाउने घोषणा गरेसँगै एमाले फु्ट्ने लगभग निश्चित जस्तै भएको हो ।

अध्यक्ष ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ ।  नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

जसअनुसार समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय  लिएको छ । यस्तै संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको छ ।

चैत ४ गते राष्ट्रिय भेला बोलाएर पार्टी पुनर्संरचनाको अभियान घोषणा गर्ने नेपाल पक्षको तयारी छ । एमाले उपाध्यक्ष भीम रावलका अनुसार शनिबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ ।

रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर पार्टीको रक्षाका लागि अग्रसर हुने बताए ।

ओलीबाट कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्ने काम भएको नेपाल पक्षको बुझाइ छ । उनले बाधा अड्काउ फुकाउने नाममा अध्यक्षले विधान विपरित काम गर्न नमिल्ने रावलको तर्क छ । ओलीको पछिल्लो निर्णय अलोकतान्त्रिक र कम्युनिष्ट एकता विरोधी भएको उनको टिप्पणी छ । नेकपा एमाले फुटाउने र कम्युनिष्ट आन्दोलनलाई सकाउने उद्देश्यसहित कदम चालको नेपाल पक्षको ठहर छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation