बजेट निर्माणको तयारीमा जुट्यो सरकार

    २९ फागुन, २०७७



काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो ।

अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा राय, सल्लाह र सुझावका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका छाता संस्थामा आबद्ध उद्यमी व्यवसायीलाई इमेल पठाएर नयाँ बजेटमा समेटिनुपर्ने विषयबारे सुझाव माग गरेको हो । अर्थ मन्त्रालयले शुक्रबारसम्म १ हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक घरानालाई सुझावमा लागि इमेलमार्फत पत्र पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले आगामी नयाँ बजेटका लागि आवश्यक राय, सल्लाह र सुझाव लिन विभिन्न संघसंस्थामा आबद्ध उद्योगी–व्यवसायीलाई सम्बोधन गरेर इमेलमार्फत पत्र पठाइएको जानकारी दिए । उनले निजी क्षेत्रको सुझावअनुसार नै निजी क्षेत्रमैत्री बजेट ल्याइने तयारी गरिएको बताए ।

अर्थ मन्त्रालयले माग गरेअनुसार आफूहरूले बजेटमा समेट्नुपर्ने विषय समेटेर सुझाव दिने व्यवसायीहरूले बताएका छन् । उद्योगी÷व्यवसायीले पठाएका विभिन्न राय सुझावलाई थप विश्लेषण गरी आगामी बजेटलाई थप प्रभावकारी बनाइने मन्त्रालयको तयारी छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation