डीडीसीका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

 अर्थ बुलेटिन   ५ कार्तिक, २०७८



काठमाडौं । भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् ।  नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई दुई दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

कर्मचारी संघका संघका महासचिव आयुव अली खानले असोज दुई गतेदेखि महाप्रबन्धक पौडेल र निमित्त महाप्रबन्धक अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको अनलाइनखबरलाई बताए ।

संस्थानको आन्तरिक लेखापरीक्षण र महालेखाको प्रतिवेदनले औंल्याएको भ्रष्टाचारमा संलग्नलाई व्यवस्थापनले जोगाउन खोजेपछि आन्दोलन गर्नु परेको महासचिव खानले दावी गरे । संस्थानको हित र कर्मचारीको भविष्यप्रति नेतृत्व उदासिन भएको पनि उनको दावी छ ।

‘हामीसँग धेरै पटक नेतृत्वले उधारो सम्झौता गरेर आफ्नो कमजोरी ढाकछोप गर्न खोज्यो, अब निणर्ायक आन्दोलन सुरु भएको छ,’ महासचिव खानले भने । संस्थानको अनियमितता लुकाउने र भ्रष्टाचारमा मुछिएकालाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने पनि उनले प्रष्ट्याए ।

डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्ऽप्रसाद अधिकारी बालाजु दुग्ध विकास आयोजनाको प्रमुख रहँदा एक करोडभन्दा बढी रकम अनियमितता गरेको र त्यो जोगाउन महाप्रबन्धक पौडेल लागेको कर्मचारी संगठनको आरोप छ ।

अनियमितता आरोप लागेका व्यक्तिलाई प्रमाण नष्ट गर्न बल मिल्नेगरी महाप्रबन्धकले भूमिका खेलेको पनि संघको आरोप छ । उनीहरुले कार्यालयको मूलद्वारमा पाल टांगेर आन्दोलन गरिरहेका छन् । कार्यालयको गेट तथा परिसरमा महाप्रबन्धक पौडेल र निमित्त उपमहाप्रबन्धक अधिकारीलाई प्रवेश निषेधको पोष्टर टाँसेका छन् ।

कर्मचारीको आन्दोलनका कारण आफूहरु कार्यालय जान नसकेको र अहिले बालाजु आयोजनामा गएर काम गरिररहेको डिडिसीका महाप्रबन्धक पौडेलले बताए । कर्मचारी हकहित र संस्थागत सुशासनको विषय उठाएर कर्मचारी संघ आन्दोलित भएको उनको भनाइ छ । आफूले अनियमिततामा मुछिएकालाई नबचाएको भन्दै पौडेलले वार्ताबाट समस्या समाधान गर्न आन्दोलित कर्मचारीलाई पत्राचार गरेको बताए ।

दुई वर्षअघि दुग्ध विकास आयोजना बालाजुमा कर्मचारीको हेलचेक्रयाँइका कारण करोड मूल्य बराबरको धूलो दूध र मख्खनमा भएको क्षतिमा संलग्नलाई महाप्रबन्धक पौडेलले संरक्षण गरेको आरोप कर्मचारीहरुको छ ।

Source: Online Khaber



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation