सुदूरपश्चिममा प्रधानमन्त्री : बाढी-पहिरो पीडितलाई के के दिए आश्वासन ?

 अर्थ बुलेटिन   ५ कार्तिक, २०७८



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश विभिन्न जिल्लामा बाढी–पहिलो र डुबान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । बिहीबार बिहान ८ बजे प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर निरीक्षणका लागि निस्किएका थिए ।

उनीहरूले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी डडेलधुरा, बैतडी र बझाङका बाढी–पहिरो प्रभावित क्षेत्रमा भएको क्षतिको बिफ रिङ र स्थलगत अवलोकन गरेका हुन् ।

 

फोटोः रातोपाटी 

कर्णाली प्रदेशमा भएको मानवीय र भौतिक क्षतिका सन्दर्भमा सुर्खेतमा प्रधानमन्त्रीको टोलीले बिफ रिङ लिएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सुर्खेतका प्रमुख जिल्ला अधिकारीले क्षतिको विस्तृत विवरण सुनाएका थिए ।

मुख्यमन्त्री शाहीको टोलीले अन्नबाली, मानवीय, भौतिक क्षतिका रिपोट प्रधानमन्त्रीलाई बुझाएको थियो । त्यसपछि प्रधानमन्त्रीको टोली डोटी पुगेको थियो ।  भ्रमण टोलीमा सहभागी काँग्रेस केन्द्रीय सदस्यता बलायरले भने, ‘डोटीमा मानवीय, भौतिक संरचना र मानबस्तीमा क्षति भएको छ । डोटीको सयल गाउँपालिकामा मानिसहरू घरबारविहीन भएका छन् ।’

प्रधानमन्त्री देउवाले सयल गाउँपालिका हवाई निरीक्षण गरेका थिए । मानवीय क्षति भएको ठाउँमा राहत पुर्‍याउने, विस्थापितहरूलाई स्थानान्तरण र घाइतेको निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएको बलायरले रातोपाटीलाई बताए । डोटीबाट प्रधानमन्त्रीको टोली बझाङतर्फ लागेको थियो । तर, तीन–चारपटक प्रयास गर्दा पनि बझाङको थलारामा हेलिकप्टर ल्यान्ड हुन सकेन । ल्यान्ड हुन नसकेपछि प्रधानमन्त्री देउवाको टोलीले थलाराको हवाई निरीक्षण गरेको थियो ।

त्यसपछि बझाङको चैनपुरमा प्रधानमन्त्री देउवाले जिल्लाको क्षतिको पूर्ण बिफ रिङ  लिए । बझाङका बाढी–पहिरो पीडितलाई पनि प्रधानमन्त्री देउवाले राहत, क्षतिपूर्ति र पुनस्थापनाको प्याकेज पनि सरकारले लागु गर्ने आश्वासन दिएका थिए ।

त्यहाँबाट फर्किएर बैतडीको शिवनाथ गाउँपालिका ५ ढंगाडमा प्रधानमन्त्री देउवाले स्थलगत अवलोकन गरेका थिए । काँग्रेस नेता लेखकले भने, ‘ढुंगाडमा सेती नदीले एउटा बस्ती मेलम्चीकै जस्तो बगर बनाएको थियो । त्यहाँ हेलिकप्टर ल्यान्ड गरी अवलोकन गर्‍यौँ । डोटी र बैतडीको सीमानामा रहेको एउटा झुलेङगे पुल भत्केको थियो ।’

नेता बलायरका अनुसार त्यसपछि फेरि प्रधानमन्त्री देउवाको टोली बझाङको थलारा गएको थियो । तर, पनि हेलिकप्टर थलारामा ल्यान्ड हुन सकेन । उनले भने, ‘हामी फेरि अर्को राउन्ड बझाङको थलारा गयौँ । २१ जना मान्छे बेपत्ता भएको र ८ जनाको मृत्यु भएको ठाउँमा हेलिकप्टर केही गरी ल्यान्ड हुन सकेन । त्यसपछि हामीले हवाई निरीक्षण गरेर फर्कियौँ ।’

बझाङमा हेलिकप्टर ल्यान्ड हुन नसकेपछि प्रधानमन्त्रीको टोली डडेलधुरातिर लागेको थियो । डडेलधुराको दह ब्यारेकभित्र जिल्ला प्रमुख अधिकारीले क्षतिको विस्तृत विवरण सुनाएका थिए ।

काँग्रेस नेता एनपी साउदका अनुसार जसमा जनधन, भौतिक संरचना र धानबालीमा क्षति भएको विषय विस्तृतमा प्रधानमन्त्रीको टोलीलाई रिपोट बुझाइएको छ । डडेलधुराका पालिकाहरूमा भएको क्षतिको विवरण पनि प्रधानमन्त्रीलाई बिफ रिङ गरिएको थियो ।

त्यसपछि प्रधानमन्त्री देउवाको टोली डडेलधुराको जोगबुढा पुगेको थियो । त्यहाँ परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले क्षतिको विवरण सुनाएका थिए ।

यस्तै आलिताल गाउँपालिका प्रमुख र अन्य पार्टीका नेताहरूले पनि कुरा राखेका थिए । त्यसपछि बाढी र पहिरो पीडितलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । नेता साउदले रातोपाटीसँग भने, ‘मन्त्रिपरिषद्ले केही महत्त्वपूर्ण निर्णय गरेको छ । त्यसमा बाढी पहिलो र डुबान पीडितलाई राहत दिइने छ । जोखिममा रहेका नागरिकलाई पुनर्स्थापना गरिने छ । खाद्यान्न र लत्ताकपडाको व्यवस्था गरिने छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ ।’

डडेलधुराबाट कञ्चनपुरतिर लागेको साउदले बताए । त्यहाँबाट प्रधानमन्त्रीको टोली सिधै बाढी प्रभावित क्षेत्र कञ्चनपुरको दोधारा–चाँदनीमा गएको थियो । निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका ९ मा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाढी प्रभावितलाई २ मिनेट सम्बोधन गरेका थिए ।

कञ्चनपुरमा महाकाली नदीको कटानी र डुबानबाट ठुलो क्षति भएको निरीक्षणका क्रममा देखिएको साउदले रातोपाटीलाई बताए । उनले भने, ‘कञ्चनपुरमा करिब एक तिहाइ बाली नष्ट भएको छ । कामै नलाग्ने गरी काटेको धानबाली डुबानमा परेको छ । कतिपय ठाउँमा मानव बस्ती र खेतीयोग्य जमिन कटान भएको छ ।’

यस विषयमा योजनाबद्ध ढङ्गले अगाडि बढ्ने प्रधानमन्त्री बताएका थिए । ‘महाकाली नदीले धेरै दुःख दिएको छ, मैले जे–जे गर्नुपर्छ, गर्छु । हामी यहाँबाट फर्केर योजनाबद्ध ढङ्गले अगाडि बढ्ने छौँ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै साउदले भने, ‘काठमाडौँ गएर बाढी प्रभावितलाई सम्बोधन गरिनेछ ।

छिट्टै केही राहत हुने गरी कार्यक्रम ल्याउने प्रधानमन्त्री देउवाको आश्वासन थियो । ‘पहाडी जिल्लाहरूमा पनि बाढीले ठुलो क्षति पु¥याएको छ,’ प्रधानमन्त्री देउवाले अवलोकनका क्रममा भने, ‘हामीले विशेष ध्यान दिएका छौँ, छिट्टै केही राहत हुने गरी कार्यक्रम ल्याउने छौँ ।’

कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्री देउवा कैलालीको धनगढीमा आएर बास बसेका छन् । प्रधानमन्त्री देउवाले शुक्रवार कैलालीको डुबान क्षेत्र निरीक्षण गर्ने कार्यक्रममा छ । त्यसपछि उनी बर्दियाको राजापुर जाने कार्यक्रम छ । राजापुरको अवलोकनपछि प्रधानमन्त्री देउवा कालिकोट जाने सम्भावना रहेको साउदले बताए ।  

कस्तो छ बाढी पहिरोको कहर ?

सुदूरपश्चिमको पहाडमा पहिरो र तराइमा बाढीका कारण धेरै मान्छेको मृत्यु भएको छ । कसैको घर बगेको अवस्था छ । कसैको घर पुरिएको छ । घर जग्गा डुबान भएर बालुवा भरिएको छ । बाढीले धानबालीको नास गरिदिएको छ । पशुपन्छीको पनि नोक्सानी भएको छ । मानिस घाइते भएका छन् । विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ । सडक भत्कँदा एक जिल्लासँग अर्को जिल्लाको सम्पर्क टुटेको छ । कैलालीको डडेलधुरासँग कनेक्सन छैन । सुदूरपश्चिमको लाइफलाइन नै अवरुद्ध भएको छ । विद्युत्, टेलिफोनसमेत सुचारु हुन सकेको छैन ।

त्यस्तै, डडेलधुराको डोटीसँग कनेक्सन छुटेको छ ।  बिहीबार सम्म धनगढीबाट डोटी, डडेलधुरा, अछाम बाजुरा, बझाङ, बैतडी र दार्चुलामा खाद्यान्न लैजान सम्भव छैन । मानिसहरू राहत, पुनर्स्थापना सुरक्षाको आस गरेर बसेका छन् ।

प्रधानमन्त्री देउवाले उनीहरूको पीडामा मलहम लगाउने आश्वासन दिएका छन् । ‘म तपाईँहरूको हेर्न आएको हो । तपाईँहरूको पीडाप्रति म गम्भीर छु, । संवेदनशील छु, काठमाडौँ गइसकेपछि मैले केही न केही व्यवस्था गर्छु भन्नु भएको छ,’ काँग्रेस नेता रमेश लेखकले रातोपाटीसँग भने ।

तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई राहतको समन्वय गर्ने जिम्मेवारी दिइएको छ । यातायात र सञ्चार सेवामा आएको अवरोधका कारण सबै ठाउँबाट विस्तृत विवरण भने अझै प्राप्त भइनसकेको अवस्था छ । सरकारका सबै संयन्त्रलाई पूर्ण निर्माणको कार्यमा परिचालन गरिने देउवाले भ्रमणका क्रममा बताएका छन् ।

काँग्रेस नेता बलायरका अनुसार बिजुली, टेलिफोन र सडकजस्ता आधारभूत पूर्वाधारका संरचनालाई तत्काल पुनर्निर्माण गरिने छ । बलायरले रातो पाटीसँग भने, ‘तत्कालका लागि टेन्ट खाद्यान्न, लत्ता कपडा र खाना पकाउने भाँडाकुँडाको व्यवस्था गर्नुपर्ने देखियो । यसका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ ।’ काठमाडौँ फर्किएपछि नेपाली सेनामार्फत बाँकी राहत उपलब्ध गराउने प्रधानमन्त्रीको तयारी रहेको उनले बताए । 

श्रोतः रातोपाटी 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation