ज्ञान निर्माणको यात्रा

 शिखरनाथ खनाल   १८ भदौ, २०७७



ज्ञानको खजाना अथाह र अभेद्य छ । यो खजाना दिनानुदिन थपिदो र भरिदो छ । हरेक दिन नयाँ ज्ञान खोजिदै छ र ज्ञानको महासागरमा थपिदै छ । नयाँ ज्ञानको खोजीका लागि पुरानो ज्ञानलाई खोतल्दै पर्गेल्दै टुक्राउदै जोड्दै थप्दै गरिएको छ । विद्यमान ज्ञानको जगमा र विद्यमान ज्ञानको विकासका रुपमा नयाँ ज्ञान र विद्धता जन्मिदो र ज्ञानको अनन्त खजानामा थपिदो छ । यो क्रम निरन्तर चलिरहेको छ ।

ज्ञानको खोजीको इतिहास लामो छ । यसका विधि, प्रविधि र क्षेत्र दिनानुदिन बदलिदा छन् । हामी जे जान्द छौं वा जे बुझेको ठान्दछौं त्यो जानेको अनुभुति हामीलाई एक स्तरको आनन्द वा सन्तुष्टि दिन पर्याप्त हुन सक्छ । तर यसको पुर्णता तर्फको यात्रा बाँकी नै रहेको हुन्छ ।

यही हामीले जानिसकेको ठानेको विषय थप ज्ञान निर्माणको आधार बन्दछ । ज्ञातको जगबाट अज्ञात तर्फको यात्रा वा फड्को वास्तव मै रोमाञ्चक हुन्छ । यो बौद्धिक यात्राको रोमाञ्चकता नै शायद मानिस हुनुको उत्कृष्टता पनि हो ।

ज्ञानको यात्राका केही रमाइला चरित्र छन् । ज्ञानको उपभोक्ता नै ज्ञानको निर्माता बन्दछ । विद्यमान ज्ञानको उपयोग गरेर नै नयाँ ज्ञान निर्माण हुन्छ । विद्यमान ज्ञानको अध्ययन गरेर नै यसका अपुर्णताहरु, यसले नदेखाएका विषयहरु वा यसले संकेत मात्र गरेका विषयहरुतर्फ थप ज्ञानको खोजीलाई लक्षित गरिन्छ । यसर्थ ज्ञानको यात्रामा पुर्णताको अपेक्षा वा भ्रम हुदैन ।

ज्ञान निर्माण र सिकाइ झट्ट सुन्दा उस्तै लागेता पनि यी दुईमा महत्वपुर्ण अन्तर छ । सिकाइ व्यक्ति भित्र हुने एउटा आन्तरिक प्रक्रिया हो जसबाट व्यक्तिको सोच, विश्वास, विचार वा क्षमतामा परिवर्तन ल्याउँछ । ज्ञान निर्माण भनेको त्यो भन्दा केही फरक हो ।

ज्ञान निर्माणमा सिकिएको ज्ञानलाई सार्वजनिक उपयोग, परीक्षण वा परिस्कार का लागि उपलब्ध गराइन्छ । यसर्थ सिकाइ व्यक्तिगत हुन्छ भने ज्ञान निर्माण सार्वजनिक हुन्छ । यसले सार्वजनिक रुपमा उपलब्ध ज्ञानको भण्डार वा ज्ञानको दायरालाई विस्तार गर्ने कार्य गर्दछ । यसले थप नयाँ ज्ञानको निर्माणको बाटो देखाउँछ । यसरी ज्ञान निर्माणले समाजको र विश्व समुदायकै क्षमता र सँस्कार सुधार्दछ ।

ज्ञानको खोजीमा खोजकर्ताको तटस्थता महत्वपुर्ण हुन्छ । ज्ञानको खोजीमा आफ्नो स्वार्थ वा आफुले हालसम्म लिइराखेको पुर्वधारणा प्रतिको आशक्तिबाट आफुलाई मुक्त नगर्दा वा गर्न नसक्दा ज्ञानको यात्रा प्रभावित भएको हुन्छ ।

अनुसन्धानकर्ताहरु आफ्नो अनुसन्धानबाट प्राप्त ज्ञानको प्रस्तुतिसँगै आफ्नो पुर्व ज्ञानको, आफ्ना दार्शनिक मान्यताहरुको, आफ्ना वा अनुसन्धानका क्रममा आफुलाई प्राप्त सुचना र तथ्यहरु उपलब्ध गराउने व्यक्तिहरुका मुल्य मान्यताहरुबाट पर्न सक्ने प्रभावहरुको, आफुले प्रयोग गरेको विधिको, त्यसका सीमा र कमजोरीहरु आदिको समेत इमान्दारीपुर्वक उल्लेख गर्ने गर्दछन् ।

यस्ता विषयहरु समावेश नगर्दा सो ज्ञानको संचार नै अधुरो मानिन्छ । यसर्थ ज्ञान निर्माण र यसको प्रस्तुतिमा एउटा उच्च स्तरको इमान्दारिता रहेको हुन्छ । यसमा कुनै विजयको उन्माद वा पुर्णताको दम्भ वा आत्मप्रशंसा भन्दा पनि बौद्धिक विनयशीलता र प्राप्त ज्ञानले देखाउने थपखोज र अध्ययनका दिशाहरु त्था आवश्यकताहरुको बोध प्रतिविम्बित हुन्छ । 

उपलब्ध ज्ञानको जगमा नै थप ज्ञान निर्माण हुने गर्दछ । तर फेरि कुनै उपलब्ध ज्ञानको बन्धक बनेर पनि ज्ञानको यात्रा अघि बढ्दैन । त्यसैले हरेक प्राप्त ज्ञानको सहज र सजिलो भाषामा संचार पनि हुनुपर्दछ । यसैले ज्ञान यसका उपभोक्ताहरुबाट परीक्षण र संपरीक्षणका लागि खुला पनि हुनुपर्दछ । 

ज्ञान निर्माणको यात्रा निरन्तर भएकोले कुनै पनि ज्ञान आफैमा अन्तिम र अकाट्य हुदैन । आफुले संचार गरेको ज्ञानको विषय परीक्षण र संपरीक्षणबाट थप परिस्कृत वा स्थापित हुन्छ तर नष्ट वा अवमुल्यन हुदैन ।

आजको ज्ञान त्यसैको आधारमा पछि गरिने अन्य अध्ययनहरुबाट अपुर्ण वा गलत समेत सिद्ध हुन सक्दछ तर यसको अर्थ उक्त समय परिवेशमा वैज्ञानिक खोजविधिबाट पत्ता लागेको ज्ञानको अवमुल्यन भन्ने हुदैन । सो ज्ञानका अनुसन्धाता वा प्रवेत्ता बेकार रहेछन् भन्ने अर्थ पनि हुदैन ।

समयसँगै नयाँ खोज अनुसन्धान र परीक्षण हुदै जाँदा आज हामीले स्थापित र संचार गरिएको ज्ञान पनि भोलि गलत वा अपुर्ण देखिन सक्छ र नयाँ अध्ययनले यसलाई झन् अघि बढाउन सक्छ । फेरि कुनै व्यक्तिले प्रशस्त अनुसन्धान विनै आजको ज्ञानलाई खन्डन गरेमा पनि त्यसकोे समेत बैज्ञानिक परीक्षण अर्को अध्ययनले गर्ने हुन्छ ।

यसर्थ, आजको हरेक अध्ययन, अनुसन्धान खोज र परीक्षण भोलिको ज्ञान निर्माणको अभिन्न आधार बन्न सक्दछ । कुनै विषयमा लेखेर, प्रकाशित गर्नु वा बोलेर प्रसारण गर्नु भनेको आफ्नो ज्ञानलाई परीक्षण र मुल्यांकनका लागि विश्व समक्ष छोड्नु पनि हो । 

जब कुनै विषयमा हामी लेख्छौं, प्रकाशित गछौं स्वाभाविकै रुपमा हाम्रो ज्ञान यसका पाठकहरुबाट परीक्षण हुन थाल्छ । हाम्रो अध्ययनबाट हामीले लिएको ज्ञान कति सही वा गलत भन्ने विषयको सत्यापन हुन्छ । यसको बारेमा सकारात्मक र नकारात्मक मुल्यांकनहरु हुन सक्छन् । यसका विषयमा व्यक्तहुने प्रकाशित वा अप्रकाशित मुल्यांकनहरु, समालोचनाहरु, भविष्यका लेखक वा अध्येताहरुबाट सन्दर्भ सामग्राीका रुपमा गर्ने प्रयोगबाट हाम्रो ज्ञानको स्तर स्थापित हुन्छ । 

आफ्नो ज्ञानको विषयलाई खुला परीक्षणमा उतार्ने र यस माथि व्यक्तहुने सकारात्मक र नकारात्मक दुवै किसिमका धारणाहरुलाई ग्रहण गरेर आफ्नो ज्ञानको उचाइ बढाउने प्रक्रिया निरन्तर रहने हुँदा ज्ञानका साधकहरुमा दम्भ, अहंकार, वा म नै जान्ने भन्ने खालका भावनाहरु नभै यस किसिमको विनम्रताको अपेक्षा रहने गर्दछ । यदि ज्ञानको खुला परीक्षण र यस माथिका प्रश्न र धारणाहरुमा बन्देज रहेमा यसले ज्ञान निर्माणको यात्रालाई नै कमजोर र अवरुद्ध पार्दछ । 

विश्वमा ज्ञानको महत्व कहिल्यै कम भएको छैन । त्यसैले ज्ञानको खोजीको, ज्ञान खोज्ने विधिको र ज्ञान खोज्ने साधकको पनि महत्व कम हुदैन । भनिन्छ आजको युग ज्ञानको युग हो । आजको अर्थतन्त्र ज्ञान अर्थतन्त्र हो । आजको व्यवस्थापनमा ज्ञान व्यवस्थापनको महत्व बढेको छ । 

उत्पादन पद्धतिमा कच्चा पदार्थको गुणस्तर, मात्रा, मेसिनको प्रकार, कार्य प्रणाली एकै भएतापनि दक्ष र अदक्ष कर्मचारी हुँदा उत्पादकत्व फरक पर्दछ । कामदारमा रहेको ज्ञान र सीपको स्तरले फरक पार्दछ । ज्ञानको स्तरले उत्पादकत्व र आम्दानीमा असर पार्ने भएकाले ज्ञान अब एउटा आर्थिक तत्वसमेत बन्न पुगेको छ ।

ज्ञान निर्माणमा गरिने खर्च लगानी भएको छ । कुनै औद्योगिक सँस्थाले आफ्नो वस्तु वा सेवाको गुणस्तर बढाउनका लागि गर्ने अनुसन्धानात्मक कार्यहरु, कर्मचारीको ज्ञान र निपुणता बढाउनका लागि उपलब्ध गराइने तालीम, सीप विकास कार्यक्रम इत्यादिहरु लगानी भएका छन् । 

अर्थतन्त्र अब यसरी ज्ञान अर्थतन्त्र बन्दै आएको छ । मानिसहरुमा सिक्न अभिप्रेरित गर्दै, उनीहरुमा ज्ञानलाई बढाउदै र व्यक्तिहरुमा रहेको ज्ञानलाई सँस्थाको हितमा उपयोग गर्दै जानका लागि ज्ञान व्यवस्थापनका विधि र पद्धतिहरु व्यवस्थापनको नयाँ विधाका रुपमा विकास भएको र स्वीकार गरिएको छ ।

यसर्थ, जहाँ ज्ञानमाथि सत्ताको आधिपत्य, पदको दबदबा र बलको आतंकले हावी हुन खोज्छ, त्यो समाज, सँस्थावा पद्धति टिक्दैन र चल्दैन पनि, सफलता पाउन सक्दैन । ज्ञान माथि सत्ताशक्तिको दबदबा कहिलै सफल भएको छैन । बरु ज्ञानमाथि र ज्ञानको खोजी माथि शक्तिको दबदबा जतिलामो समय चल्छ उति बढी समाज र सभ्यता पीडित हुदै र क्षतिझेल्दै नै आएको छ । यसैले ज्ञान निर्माणको, प्रचारको, सत्यापनको र उत्प्ररेणको यात्रासँगै मानवीय प्रगतिको बाटोमा अघि बढ्नु आजको र आगामी दिनको अपरिहार्यता हुन आउछ । 

(लेखक नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय विरगंजमा कार्यरत वरिष्ट प्रवन्धक हुनुहुन्छ ।)

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation