पिडामा दुग्ध कृषक ‘मिल्क होलिडे’ र भुक्तानी अनियमितता

 डा. बालक चौधरी, डेरी विशेषज्ञ   २१ पौष, २०७७



ग्रामीण क्षेत्रमा उत्पादन हुने दूध सहकारी संस्था, समुह, कृषक, उद्योगी लगायत निजी व्यवसायी मार्फत संकलन गरी चिलिङ्ग सेन्टर, उद्योग अथवा सीधै विक्रीका लागि बजारमा दैनिक प्रवाह हुन्छ । सम्वत् १९६९ मा स्थापित दुग्ध विकास संस्थाले दूध खरीद गर्न कृषक समुह, सहकारी गठन गरेको इतिहाँस पाइन्छ ।

दुग्ध क्षेत्रमा एकल वजार कायम गरेको संस्थान सन् १९८० को दशकतिर निजी क्षेत्रका दुग्ध उद्योगहरु पनि व्यवसायन्मुख हुन थालेको देखिन्छ । सथानीय हाटबजार र कृषि सडक क्रमिक रुपमा खुल्दै जाँदा ग्रामीण क्षेत्रका मानिसहरु शहरोन्मुख बसाई सर्ने क्रम रहेकाले उद्योगहरुको पहँुच कम भएको त्यस्ता ठाउँहरुमा अनौपचारिक क्षेत्रबाट दूध तथा दुग्ध पदार्थ ठुलो परिमाणमा आपूर्ति हुने देखिन्छ ।

दुग्ध क्षेत्र  कृषक, उद्यमी, व्यापारी, प्राविधिक, एग्रोभेट, पाराभेट, डेरी इन्जिनियरिङ्ग, श्रोत केन्द्र आदिसंग जोडिएको हुदा प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी समेत सृजना गरेको नकार्न सकिदैन ।

दूध तथा दुग्ध पदार्थ मानव स्वास्थ्यसंग जोडिएको हुँदा विभिन्न माध्यमबाट उपभोक्तासम्म पुग्ने यस्ता खाद्यपदार्थ दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ ले तोके बमोजिम उत्पादन एवं बिक्री वितरण हुनु बाञ्छनीय छ । उपभोक्तासम्म पु¥याउने औपचारिक तथा अनौपचारिक क्षेत्रले  निर्देशिकाको पालना हुनु पर्दछ । दुग्ध बजार व्यवस्थाको अध्ययन बेगर असल अथवा कमसल दूध तथा दुग्ध पदार्थको विषयमा उल्लेख गर्न नसकिने भएकाले अध्ययन अनुसन्धान हुनु जरुरी छ ।

दूध संकलन एवं बिक्री वितरण

औपचारिक अथवा अनौपचारिक बर्गीकृत माध्यमहरु जे भए पनि शव्दहरुको बुझाई आफ्नै किसिमको हुने हुदा ठोस परिभाषित हुनु आवश्यक छ । कुनै पनि व्यापार सञ्चालन गर्न नेपाल सरकारको सम्वद्ध निकाय (घरेलु तथा साना उद्योग, बाणिज्य विभाग, स्थानीय निकाय, सहकारी विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय) मा दर्ता गर्ने प्रावधान छ । तत्पश्चात् उद्योग सञ्चालन गर्न खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनु पर्ने हुन्छ । तोकेको मापदण्ड पूरा भए नभएको खाद्य तथा गुण नियन्त्रण विभागले जारी गरेको निर्देशिका, २०७५ बमोजिमको अनुगमन गर्ने प्रावधान छ ।

यो आलेख नेपालगञ्जको दुग्ध व्यवसायमा आधारित तयार पारीएको हुदाँ निजहरुको बुझाईलाई उदघृत गर्न खोजिएको हो । नेपालगञ्जमा जिल्लाभित्र र छिमेकी जिल्लाबाट बिक्री हुने अधिकाँश भैंसीको दूध रहेको तर चेतनाको अभावका कारण संकलन तथा विक्री (सहकारी संस्था र केही साना दुग्ध उद्योग बाहेक) लिटरमा हुने हुदा खाद्य तथा गुणस्तर निर्देशिका, २०७५ बमोजिम मापदण्डको नभएको देखिन्छ । 

तोकेको परिमाणमा उपभोक्ताले दूधको उपभोग गर्दा न्युनतम परिमाणको पोषण शरीरलाई पूरा नहुन सक्दछ । दुग्ध विकास संस्थान अन्तरगत कोहलपुर दुग्ध वितरण आयोजना र निजी दुग्ध उद्योगहरुबाट गरी करिव ४ हजार ६ सय लिटर प्रशोधित दूधको विक्री वजार रहेको छ भने बाँकी १० हजार ४ सय लिटर अप्रशोधित खुल्ला दूध (तालिका-१) डेरी पसल, बाइक, टेम्पो, साइकल आदि मार्फत विक्री हुने गरेको छ ।

नेपालगञ्जमा यो लेख तयार पार्दासम्म करिव १५ हजार लिटर दूध तथा दुग्ध पदार्थ खपत हुने गरेको पाइन्छ । कोभिडका कारण पर्यटन व्यसाय, होटेल, लज, कल कारखानाको सञ्चालनमा असर परेको हुँदा उपरोक्त दूधको खपतको परिमाण कम देखिएको हो । 

औपचारिक क्षेत्रले कृषकको सवै दूध संकलन गर्न नसकी मिल्क होलिडे बाध्यात्मक अवस्था हो जसकोे कारण पनि डेरी फर्म, कृषक, सहकारी संस्था विकल्प अपनाएको पनि खुल्न आएको हो । उपरोक्त अवस्था आउनुको कारण समय परिस्थिति, खाने रुची एवं क्रय शक्ति आदि हुन सक्ने अनुमान गर्न सकिन्छ । 

औपचारिक क्षेत्र

संस्था कानुनी प्रकृयागत दर्ता गरी खाद्यले तोकेको मापदण्ड अपनाई खरीद विक्री प्रकृया अपनाउनुलाई औपचारिक क्षेत्र भन्ने बुझिन्छ । दूधको औपचारिक क्षेत्रले प्रशोधित दूध तथा दुग्ध पदार्थहरु तयार पारेर प्याकेजिङ्ग गरेर डेरी पसल, विक्री वुथ मार्फत सुपथ मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने भनिएको छ । 

आम्दानीमा कर तिर्ने, तथ्याँक हुने, कर्मचारीले एक समय सीमाभित्र काम गर्ने, कर्मचारीको हितका सुविधाहरु हुने, उत्पादनको गुणस्तर प्याकेजिङ्गमा उल्लेख गरी ग्यारेन्टि दिने आदि औपचारिक क्षेत्रका विशेषताहरु हुन् ।

औपचारिक क्षेत्रले बजार विक्री गर्न नसकी कृषकले उत्पादन गरेको सम्पूर्ण दूध खरीद गर्न नसकी नेपालको सन्दर्भमा दूध विदा गर्नु एक समस्या हो । भुक्तानी तथा विक्री वापत पाउने रकमको नियमितता नहुनु यस क्षेत्रका जटिलताहरु हुन् ।

अनौपचारिक क्षेत्र

खुल्ला दूधको गुणस्तर अनुमानको आधारमा आँकलन गरी व्यापारीले बजारको माग बमोजिम विक्री मूल्य फरक फरक गरेको पाइन्छ । अर्को तर्फ उद्योग वाणिज्य तथा आपूर्ति विभाग अथवा अधिकारीक सरकारी निकायमा दर्तावाल डेरी पसलहरुमा दूध तथा दुग्ध पदार्थ लगायत अन्य खाद्यान्य सामाग्रीहरु विक्री गरेको देखिन्छ । पसल भन्नाले उद्योगबाट उत्पादित प्रशोधित अथवा तयारी पदार्थ तोकेको कमिशन लिई सर्वसाधारणलाई विक्री गर्नु हो । अधिकांश डेरी पसलहरुले सो न गरी खुल्ला (टुप्पी दूध) विक्री गरको पाइन्छ ।

रिक्सा, टेम्पो, बाइक एवं औटोमा क्यान राखी डुलुवा रुपमा अधिकाँश समय लगाई खुल्ला विक्री गर्दा कोल्डचेन मेन्टेन नहुने, खरीद विक्रीको तथ्याँक नराख्ने, करयोग्य आम्दानीको कर नतिर्ने, विक्रीकर्ताको विकल्प नहुनु जोखिम पक्ष हुन् । अनौपचारिक क्षेत्रका संकलक तथा विक्रीकर्ता प्रत्यक्ष कृषक तथा उपभोक्तासंग जोडिन,े ठुलो परिमाणमा विक्री गर्ने, कृषकको भुक्तानी तथा विक्री वापत पाउने रकम प्रायः महीनाको अन्तमा हुने गरेको पाइन्छ । बर्षै भरी घामपानीको प्रवाह नगरी घुम्ती खुल्ला विक्री, बैकल्पिक जनशक्ति नहुने, दूधको गुणस्तर तोके बमोजिमको नहुने थप जोखिमहरु हुन ।

दुग्ध व्यवसाय नेटवर्क

औपचारिक क्षेत्रर्ले डेरी फर्म तथा कृषककोे दूध दुग्ध चेन (सहकारी, समुह, फर्म) मार्फत संकलन गरी अधिकाँश दूध चिस्यान (चि.से.) गरी तोकेको मापदण्ड बमोजिम प्रशोधित दूध तथा दुग्धपदार्थ उत्पादन गरी प्याकेजिङ्ग गरेर बिक्री वुथ, डेरी पसल मार्फत बजारी करण गरेको पाइन्छ । उद्योगले कच्चा दूध खरीद रकम तथा प्रशोधन गर्न लाग्ने खर्च, बिक्री वुथ कमिशन लगायत विविध खर्च समेतको गणना गरी दूध तथा दुग्ध पदार्थको उपभोक्ता मूल्य प्याकेटमा उल्लेख हुन्छ ।

अनौपचारिक क्षेत्र तर्फ डेरी पसल अथवा व्यापारी (डेरी फर्म, ग्वाला, कृषक...) आफै दूध संकलन गरी दैनिक घरघरै, चियापसल, रेष्टुरेन्ट, मिठाई पसलमा खुल्ला दूध बिक्री गर्ने बुझिन्छ । अर्कोतर्फ शहरोन्मुख डेरी पसल नामाकरण गरी अन्य किराना सामानहरुको विक्रीसंगै शितकृत खुल्ला दूध तथा दुग्ध उद्योगले उत्पादन गरेको दुग्धपदार्थ विक्री गर्ने गरेको पाइन्छ ।

विक्री गर्ने खुल्ला दूधको हकमा गुणस्तर मापण नगरी उपभोक्ताले रुचाएको आधारमा फरक फरक दूधको मूल्य तोकिएको हुन्छ । खुल्ला दूधको खरीद विक्रीको तथ्याँक राख्ने चलन नहुँदा यस क्षेत्रको यथार्थ तथ्याँक यकिन गर्न सकिदैन् ।

औपचारिक क्षेत्रको पहुँच नहुने ठाउँमा उपभोक्ताले प्रत्यक्ष सेवा पाउन अनौपचारिक क्षेत्रबाट ठुलो परिमाणमा आपूर्ति हुने दक्षिण पूर्वी एशिका मुलुकहरुमा चलन रहेको छ । खाद्यपदार्थको गुणस्तरभन्दा चलिआएको रीति रिवाज एवं खाने वानीले अनौपचारिक क्षेत्र फष्टाएको हो । 

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ 

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ लागु गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठीत खाद्य तथा गुण नियन्त्रण विभाग, बाणिज्य तथा आपूर्ति विभाग, जिल्ला प्रहरी कार्यालय, स्थानीय सरकार, वाणिज्य संघ, पत्रकार, उपभोक्ता मञ्चसंग छलफल गरीयोे । छलफलमा निर्देशिका बमोजिमको मापदण्ड नभएका उद्योगलाई सुधारका लागि सल्लाह, सुझाव दिइएको जानकारी प्राप्त भयोे । 

अनुगमनबाट दुग्ध उद्योगीहरुको कमी कमजोरीमा केहीं सुधार आएको बाँके जिल्ला दुग्ध व्यवसायी संघका अध्यक्ष श्री बदरुदिन अनसारीले जानकारी दिनु भयो । बाणिज्य तथा आपूर्ति कार्यालयका अधिकृत श्री कृष्ण प्रसाद पौडेलले निर्देशिका अनुकूल सञ्चालन नभएको  जुनसुकै व्यवसायीलाई दण्डीत गर्नु पर्नेमा जोड दिनु भयो । खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्री ज्ञानेन्द्र प्रसाद मण्डलले निर्देशिका पालना गर्नु आवश्यक रहेको तथा डेरी पसलेले खरीद विक्री तथ्याँक राख्नु पर्ने भन्नु भयो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख श्री दीर्घराज उपाध्यायले कृषकको दूध विक्री हुनु आवश्यक रहेको तर खुला दूध अर्को ठुलो समस्या रहेकाले सो लाई पनि सर्वपक्षीय सहमतिका साथ अनुगमन गरी व्यस्थित गर्नु पर्ने औल्याउनु भयोे ।

निष्कर्ष

कृषि व्यवसाय मध्ये दुग्ध एक प्रमुख व्यवसाय हो । ग्रामीण रोजगारीको सृजना गर्ने, शहरको रकम ग्रामीण क्षेत्रमा प्रवाह गर्ने, दुग्ध पोषण आपूर्ति गर्ने आदि यस क्षेत्रका विशेषताहरु हुन् । असल, गुणस्तर दूधले मात्र उपरोक्त विशेषताहरु पूरा गर्न सकिने हुदा उत्पादनदेखी उपभोगसम्म गुणस्तर कायम हुनु बाञ्छनीय छ ।

दीगो व्यवसाय कारोवार गर्न दूधको रासायनिक तथा भौतिक जाँच गर्ने परिपाटी हरेक ठाउँमा हुनु आवश्यक छ । खुल्ला तथा टुप्पी दूधको गुणस्तर ग्यारेन्टि कसैले लिन तथा दिन नसक्ने भएकाले सकेसम्म प्रशोधित प्याकेट दूधको उपभोग गरी स्वास्थ लाभ लिन उपभोकता बर्गमा चेतना जगाउनु सम्वद्ध सबैले प्रयत्न गर्नु आजको आवश्यकता हो ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation