नेपाल ‘बिश्व साँस्कृतिक उत्सव २०२३’ मा सहभागीनेपालवाट १३ वर्ष देखि ६० वर्ष सम्मका १५० जना कलाकारहरुको सहभागिता

 अर्थ बुलेटिन   १४ असोज, २०८०



काठमाडौं । अमेरिकाको वाशिंगटन डि.सी. स्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना भएको बिश्व साँस्कृतिक उत्सव २०२३ मा नेपालले पनि आफ्नो प्रदर्शनी प्रस्तुत गरेको छ ।  

विश्वका १८० राष्ट्रहरुको प्रतिनिधित्व रहेको सो विश्व संस्कृतिक उत्सवमा नेपालवाट १३ वर्ष देखि ६० वर्ष सम्मका १५० जना कलाकारहरु पुगेका छन् ।  नेपालको विभिन्न समुदायको सात मौलिक नृत्यहरु सोही समुदायको सांस्कृतिक पहिरण पहिरी प्रस्तुत गरेका छन् । 

नेपालको तर्फवाट नृत्यहरुको निर्देशन चर्चित नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले गर्नुभएको छ । उहाँले विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण दिंदै आउनुभएको थियो ।

नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेश बहादुर प्रधान तथा निभा माथेमा प्रधानले गर्नुभएको छ । प्रधान दम्पती आर्ट अफ लिभिङको सक्रिय आजीवन सदस्य हुनुका साथै दया फाउन्डेसनमा पनि आबद्ध हुनुहुन्छ ।

नेपालको ‘बिश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिताले नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने दया फाउन्डेसनका संस्थापक सदस्य राजेश बहादुर प्रधानले बताउनुभयो । 

अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू माझ नेपाली संस्कृतिलाई जोगाउने हेतुले काम गर्दै आएको नेपाल एजुकेशन कल्चरल सेन्टरको नेतृत्व गरिरहेका अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व तथा समन्वयमा अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू यस कार्यक्रममा सहभागीता जनाउँदै छन् । 

कार्यक्रममा विभिन्न राष्ट्रहरुले आफ्नो देशको भेषभुषा, नृत्य, संगीत तथा परिकारहरुको प्रस्तुति यी तीन दिनमा गर्ने छन् । विश्वभरका १८० राष्ट्रहरुबाट १७,००० कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत हुँदैछन् ।
‘बिश्व सांस्कृतिक उत्सव २०२३’ को आयोजना आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यातमिक गुरु रविशंकरले गर्नुभएको हो । हालसम्म पांच लाख भन्दा बढी सहभागीहरुले कार्यक्रममा सरिक भै संसार भर छरिएका सांस्कृतिक विविधताको महत्व माथि एक्यबद्धता जनाएको आयोजकले जनाएको छ ।

यस कार्यक्रमको स्वागत कमिटीको नेतृत्व यु.यन.का जेनेरल सेक्रेटरी बान–कि–मुनले गरिराख्नु भएको छ भने नेपालका प्रतिनिधि सभा सदस्य तथा उद्योगी विनोद चौधरी पनि यस कार्यक्रमको स्वागत कमिटीमा सरिक हुनुहुन्छ ।
यस वर्ष भएरहेको ‘बिश्व संस्कृतिक उत्सव २०२३’ चौथो संस्करण हो, सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करण मा पच्चीस लाख सहभागी थिए, त्यसैगरी दोश्रो संस्करण बर्लिनमा सन्न २०११ मा सम्पन्न भएको थियो त्यसमा सत्तरी हजार सहभागी थिए भने तेस्रो सस्करण सन् २०१६ मा दिल्लीमा आयोजना भएको थियो, त्यसमा सैतिस लाख सहभागी थिए ।

कार्यक्रमसंग सम्वन्धित फोटोहरुः

 

 

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation