

२२ असार, २०८२ | 06 Jul, 2025
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा अमेरिकाको भर्जि्नियास्थित ईसिपीआइ युनिभर्सि्टिका प्रोफेसर डा. रामहरि सुवेदीद्वारा डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रस्तुतीकरण प्रहरी संगठनका लागि फलदायी र निकै महत्वपूर्ण भएको चर्चा गर्दै महत्वपूर्ण जानकारीका लागि प्रोफेसर डा. सुवेदीलाई धन्यवाद दिए । प्रस्तुतीकरणका विषयलाई अगाडि बढाउन क्षमता अभिवृद्धिका साथै नीति निर्माणका लागि पहल गरिने उनले बताए ।
प्रहरी महानिरीक्षक खनालले डिजिटल नेपालका लागि सांगठनिक रुपमा सबल हुनुको साथै व्यक्तिगत रुपमा ज्ञान बढाउनुपर्नेमा जोड दिँदै प्रणालीगत रुपमा साधनस्रोत व्यवस्थापनको साथै मातहतसम्म ज्ञान पुर्याउनुपर्ने चर्चा गरे । सूचना प्रविधिसँग सम्बन्धित प्रहरी युनिटहरुले उहाँसँग समन्वय गरी विशेष योजना बनाएर अगाडि बढनुपर्ने उल्लेख गर्दै उनले प्रोफेसर डा. सुवेदीबाट आगामी दिनमा समेत सहयोग पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रोफेसर डा. सुवेदीले साईबर सुरक्षा सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै पूर्वाधार निर्माण तथा विकास, दक्ष जनशक्ति उत्पादन, शैक्षिक प्रणालीमा विकास, कानुन निर्माण तथा उचित कार्यान्वयन लगायतका विषयलाई प्राथमिकता दिनसके डिजिटल नेपालको कल्पना गर्ने सकिने बताए । यसका लागि सुरक्षा निकायले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए । साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिँदै उनले साइबर अपराध न्यूनीकरणका चुनौती र समाधानका उपायबारे चर्चा गरे ।
प्रस्तुतीकरण कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, केन्द्रीय साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा लगायत विशिष्टिकृत साइबर सुरक्षासँग सम्बन्धीत कार्यालयका प्रमुखहरु तथा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।