लोकतन्त्र: सामयिक चिन्तन

    ७ फागुन, २०७७



शिखरनाथ खनाल
 सन् १९९० को लहर विश्वमा यसरी आयो कि त्यसपछिका वर्षहरुमा डेमोक्रेसी वा लोकतन्त्रका विपक्षमा बोल्ने र उभिने धृष्टता कसैले गर्न नसक्ने अवस्था आयो । जनता वा लोकले शासन गर्ने पद्धति भन्ने सरल अर्थमा अथ्र्याइने लोकतन्त्र वा डेमोक्रेसीका आधारभुत मान्यताका रुपमा जनताको शासन, संविधानवाद र उदारतालाई लिइयो । जनताको शासन भन्नाले जनता, जसमाथि शासन गरिने हो उसैका प्रतिनिधिहरु शासकीय जिम्मेवारीमा रहने व्यवस्था हो ।

यसर्थ शासन गर्ने अधिकार प्राप्त हुने स्रोत जनता स्वयम् नै हुन्छन् । अर्को शब्दमा भन्दा सार्वभौमसत्ता जनतामा रहेको हुन्छ । जनताले यो शासनाधिकार चुनावका माध्यमबाट प्रयोग गर्दछन् । जहाँ शासनाधिकार प्राप्त गर्ने स्वतन्त्र र निष्पक्ष अनि दबाबरहित वातावरणमा भोट दिने, दिइएका भोटहरुलाई गणना गरिने भन्ने हुन्छ । संविधानवाद वा कन्स्टिच्युसनलिजम भन्नाले जनताबाट प्राप्त शासनाधिकारलाई शासकले मनपरी वा मनोमानी रुपमा जनतालाई दबाउन वा शोषण गर्न प्रयोग गर्ने होइन, यौटा संविधानको दायराभित्र रहेर मात्र प्रयोग गर्ने भन्ने बुझिन्छ । उदारता भन्नाले जनताको लागि सुचना प्राप्त गर्ने हक, अभिव्यक्तिको स्वतन्त्रता, पेशा तथा व्यवसाय गर्न र निजी सम्पत्ति कमाउन र राख्न पाउने स्वतन्त्रता जस्ता विभिन्न तत्वहरुका माध्यमबाट एउटा मर्यादित जीवनको प्रत्याभुति गर्ने व्यवस्था भन्ने बुझिन्छ ।

यसरी लोकतन्त्रका आधारभुत सिद्धान्तहरुले यसलाई एउटा विशिष्ट र कसैले अस्वीकार गर्ने नसक्ने उत्कृष्ट शासनपद्धतिका रुपमा देखाउँछन् । यिनै आधारहरुमा रहेर विश्वका कैयौ देशहरुमा लोकतन्त्रको एउटा लहर आयो । विभिन्न देशमा तानशाह बनेर रहका राजा महाराजाहरु र कम्युनिस्ट शासकहरुको भ्रस्टीकरण तथा अलोकप्रियताको परिवेशमा लोकतन्त्रले सबैले चाहने उत्कृष्ट शासन व्यवस्थाका रुपमा एउटा छवि सिर्जना गर्न सफल भयो । लोकतन्त्रको उर्लदो लहरका बीचमा लामोसमयदेखि शासन गरिआएका देवत्वकरण गरिएका राजाहरु र सर्वशक्तिमान भएर रहेका कम्युनिस्ट शासकहरु एक अर्थमा टाउको लुकाउन वा टाउको जोगाउनका लागि लोकतन्त्रको टोपी लगाउन बाध्य भए ।

तर १९९० पछिका करीब तीस वर्षको अन्तरालमा विभिन्न आर्थिक र राजनीतिक समस्या र संकटहरुले प्रश्न उठाएका छन् कि के लोकतन्त्र नै सबै रोगको उपचार हो? लोकतान्त्रिक पद्धतिको स्थापना र सुदृढीकरणका नाममा धेरै खेतीपाती भए । लोकतान्त्रिक आन्दोलनलाई सहयोग गर्ने नाममा विभिन्न देशहरुमाथि स्वार्थप्रेरित हस्तक्षेपका धेरै खेलहरु भए । गरीब देशहरुमा लोकतान्त्रिक व्यवस्था हुनु वैदेशिक सहयोगको सुन्दरतम शर्त बनाइयो ।

देशमा लोकतान्त्रिक भनिने पद्धति नभए वैदेशिक सहयोग आउदैन, विकास हुदैन भन्ने मनस्थितिको निर्माण भयो । कुनै देशको शासक अलोकतान्त्रिक रहेको भन्ने नाममा आफ्नो स्वार्थ अनुकुल नचल्ने शासकहरुलाई अपदस्थ गराउने र आफ्नो स्वार्थमा चल्ने समर्थकलाई सत्त्तामा पुर्याउने खेल शक्तिराष्टहरुबाट चल्दै गयो । लोकतान्त्रिक पद्धतिको स्थापना भन्ने सुन्दर पदावलीभित्र यस किसिमका हस्तक्षेपकारी कार्यहरु र त्यसबाट साना देशहरुका शासकहरुमा विकास हुने राष्टघाती सोच र बलिया राष्टको गुलामी गर्ने परनिर्भरताका सँस्कारहरु केद हुदै गए ।

तर जनतालाई सर्वशक्तिमान बनाउने र जनताको शासन चलाउने लोकतान्त्रिक पद्धतिको नियति यस्तै हो त ? के लोकतान्त्रिक पद्धति अपनाएका भनिएका देशहरु विकास भएका छन्? जनता सुखी सन्तुष्ट र समृद्ध भएका छन्? लोकतन्त्रका आधारभुत विशेषताहरु हेर्दा त यसको विकल्प कसैले खोज्नै नपर्ने देखिन्छ । लोकतन्त्रमा गलत शासकको विरोध गर्न पाइन्छ, शासकको विकल्प खोज्न पाइन्छ, शासक बदल्न पाइन्छ, संविधान परिवर्तन गर्न पाइन्छ एउटा विधिबाट । तर के लोकतान्त्रिक भनिएको पद्धतिकै विरोध गर्न किन आवश्यक हुन्छ ? किन कमजोर हुन्छ यस्तो उत्कृष्ट व्यवस्था? कुनै पुर्वशर्तहरु छन् कि लोकतन्त्रका?

लोकतन्त्रको आधार जनता हो । जनताले जे जस्ता शासकहरुलाई सत्तामा पुर्याउँछन् उनीहरुले नै शासन गर्छन् । जनताको मत सत्तामा पुग्ने सबैभन्दा ठुलो हतियार हुन्छ । जनताको मत नै शासकको शक्तिको स्रोत हुन्छ । जनताको मत पाएका आधारमा नै शासकले आफुलाई शक्तिशाली सम्झन्छ । आवधिक चुनावमा जनताको मत पाएकै आधारमा उसमा शक्तिको मात, अहंकार र दम्भ पलाउँछ । तर लोकतन्त्र वृहत अर्थमा एउटा चुनावको प्रक्रिया मात्र नभै एउटा सस्कार हो । जनतालाई शक्तिशाली मान्ने र चुनावलाई जनताबाट हुने आवधिक परीक्षणको रुपमा लिने । तर जनता त्यति विवेक राख्न सक्छ कि कुन शासक ठीक हो, कुन शासकले ल्याएको कार्यक्रम र प्राथमिकताहरु उचित हुन्र इत्यादि खुट्याउन ? के जनताले शासकबाट गरिएका कार्यहरुको समीक्षा गर्न र सही वा गलत बुझन सक्छ? जनताले आफ्ना लागि के ठकि र के बेठीक हुन्छ भन्ने जस्ता कुराहरुको निक्र्योल गर्न नसकेमा के हुन्छ ? शासकका रुपमा छानिन चाहने नेताले वा उसको समुहले गरीब, अशिक्षित र अभावपीडित जनतालाई गलत हिसाबले प्रभावित गरेर भोट लिन सकेमा चुनावी लोकतन्त्रमा गलत नियत भएको शासक सत्तामा पुग्न र रहिरहन सक्दैन? सत्तामा पुगेर वा सत्ताधारीहरुलाई प्रभावमा राखेर गलत तरीकाले धन कमाएको व्यक्ति धनकै बलमा जनमत ल्याएर फेरि फेरि सत्तामै बसिरहन सक्दैन ? यसको औषधि छ त लोकतन्त्रसँग ?

यसको औषधि हुनसक्छ शिक्षा, सचेतना र जागरण । अशिक्षित जनता लोकतन्त्रका नाममा अलोकतान्त्रिक शासन गर्नेहरmका लागि गजबको आधार हुन सक्छन् । गलत तथ्य र तथ्यांकका आधारमा आफुले राम्रो काम गरिरहेको हल्ला पिटेर जनताको भोट तान्न सकिन्छ । औचित्यपुर्ण र व्यवहारिक रुपमा संभव योजना र कार्यक्रमहरुका सट्टा जनताका आकांक्षाहरुलाई समातेर र उकासेर हुनै नसक्ने रोमान्चक आश्वासनहरु दिएर अशिक्षत र कम शिक्षित जनताको मत हत्याउन सक्दछन् । जनताका राजनैतिक आकांक्षाहरुलाई उचालेर लाई जातीय आधारमा शासनाधिकार दिने, रोजगारी दिने, त्यस्तै विकास आकांक्षाहरु उचालेर ठुलाठुला आश्वासन दिने गरेको हामीले देखिरहेका छौं । यी सबैको पहिलो उपचार भनको शिक्षा र सचेतना हो । भ्रम र झुटलाई चिर्न सक्ने अस्त्र नै शिक्षा र चेतना हो । तर आम जनतामा शिक्षा र चेतनाको स्तर नबन्दासम्म लोकतन्त्र बलियो हुदैन

। केवल लोकतन्त्रका नाममा शासन गर्ने शासकहरु बलिया हुन्छन् । मुट्ठीभर नेताहरु बलिया हुन्छन् । अनि लोकतन्त्र बलियो नभएर शासकतन्त्र मात्र बलियो हुन्छ । तर उनका भाषण सुनेर मुल्यांकन गर्ने, उनका चुनावी नाराहरुको परीक्षण र सत्यापन गर्ने, उनका घोषणापत्रका विषयहरुको अध्ययन र मुल्यांकन र बहस गर्नसक्ने जनता भएमा उनीहरुलाई असुविधा हुन्छ । जनता शिक्षित र सचेत भएको, जनता बुझ्ने भएको, अभाव र अज्ञानको पीडाबाट बहिर निस्केको अवस्थामा मात्र लोकतान्त्रिक अभ्यास बलियो हुन्छ । पद्धति बलियो हुन्छ ।  
आजकल लोकतन्त्र सबैलाई मनपर्छ । लोकतन्त्रको अवधारणा र पद्धति त सबैलाई मन पर्छ । तर अलि व्यंग्यात्मक रुपमा भन्दा यो नाम झनै मनपर्दो छ ।

किनकि लोकतन्त्रको नाम लिएर सत्तारोहण गरेपछि सत्ता छोड्न नपरोस् भन्नका लागि लोकतन्त्रमाथि खतरा पैदा भएको, लोकतान्त्रिक पद्धतिलाई थप बलियो बनाउन आवश्यक भएका, अहिलेको परिस्थितिमा आफुले सत्ता छोडेमा लोकतन्त्र गुम्नसक्ने अवस्था रहेको आदि जस्ता बहाना बनाएर सत्तामा बसिरहने उपक्रम गर्न सकिन्छ । यसैले आम जनतालाई अझ विशेषगरी कम शिक्षित जनसमुदायलाई आकर्षक नारा र आश्वासन दिएर उक्साएर, भड्काएर, ठुलासपना देखाएर सत्तामा पुग्ने महत्वाकांक्षी र अतिवादी डेमागगहरुलाई लोकतन्त्रको ओठेमन्त्र वास्तविक लोकतान्त्रिक आचरण र सिद्धान्तमा हिड्ने व्यक्तिहरुलाई भन्दा झनै बढी प्यारो र उपयोगी हुने गर्दछ ।

लोकतान्त्रिक व्यवस्था सबैको लागि हुन्छ । यसभित्र उद्यम गर्ने, कमाउने, बोल्ने, लेख्ने, आफ्ना विचारहरुको संप्रेषण गर्ने, निर्वाचनमा उठ्ने, भाग लिने जस्ता अधिकारहरु सबैलाई हुन्छ । लोकतान्त्रिक प्रक्रियाले सबैलाई समेट्छ । लोकतान्त्रिक अधिकारहरु उपभोग गर्न कुनै खास पार्टीको सदस्य, आस्थावान वा कुनै खास धर्म, वर्ण, जात वा कुनै खानदानको व्यक्ति हुनुपर्देन । अनि एउटा पार्टीले वा समुहले बाँकीलाई अवरोध गर्ने वा निषेध गर्ने भन्ने हुदैन । यसैले धनको बलमा, वाकपटुताको बलमा, वा खतरनाक द्धन्द्धको त्रासमा पारेर पनि जनतालाई आफ्नो पक्षमा बनाएर असल, खराब जेसुकै नियत भएको जो सुकै पनि व्यक्ति सत्तामा पुग्न सक्दछ ।

लोकतन्त्रमा रहने यो उदारता र व्यापकता नै लोकतन्त्रको नाममा अलोकतान्त्रिक चरित्रहरु सत्तामा पुग्न  र हावी हुनका लागि सहजताको कारण बन्दछ । लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने, पद्धतिप्रति इमान्दार र लोकतान्त्रिक सँस्कारका लागि लडेका व्यक्तिहरुको कमजोरी, गलत आँकलन वा आर्थिक वा सुरक्षा संकटको समयलार्इृ भजाएर वा मौलिक सँस्कार र अतिराष्टिय भावनाको डंका बजाएर यस्ता डेमागगहरु समयसमयमा निस्कन्छन् र सत्तामा पुग्छन् । अनि लोकतान्त्रिक प्रक्रियाहरु र लोकतान्त्रिक पद्धति जोगाउने संसद, अदालत, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण आयोग, जस्ता सँस्थाहरुको दुरुपयोग गरिगरि जनताको हितको नाम लिई लिई लोकतन्त्रको हत्या गर्दछन् । त्यसैले हठात् हुने सैनिक हस्तक्षेपमात्र आज लोकन्त्रको खतरा होइन ।

आजको विश्व समुदायले सर्वथा अस्वीकार गर्ने बदनामी र हिंसात्मकतालाई नझेलिकन लोकतन्त्रकै बाटोबाट गरिने लोकतन्त्रको असैनिक र क्रमिक हत्या नै लोकतन्त्रमाथिको आजको खतरा हो । जनतामा शिक्षा, चेतना र सत्य बोल्ने हिम्मतको अभावमा अनि अनुद्यमी बेरोजगार र मेहनतमा विश्वास गर्न नचाहने प्रवृत्तिको युवा पुस्ताका कारण लोकतन्त्र निरीह बन्दछ । नाममा लोकतन्त्र भन्न नछोडी नछोडी खोक्रो बनाइएको लोकतन्त्रको आवरणमा एउटा निर्वाचित तानाशाहले ढलीमली गर्दछ । नाममा जीवित तर गुणमा चरित्रमा र विशेषतामा लोकतन्त्र हराइसकेको हुन्छ । लोकतन्त्रको भ्रममा खोक्रो लोकतन्त्रले जनतामाथि राज गरिरहन्छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation