चेतना भया कांग्रेस जनमा !!!नेपाली कांग्रेस कुनै वर्गविशेषको पार्टी होइन

 धनन्जय पौडेल   २७ असार, २०७८



राजनीतिक कार्यदिशाबिना एउटा सुदृढ पार्टीको कल्पना गर्न सकिँदैन । विचार र सिद्धान्त कुनै पनि दलको अस्त्र हो । यो अस्त्रबिना दल अपुरो हुन जान्छ । 

यही फ्रेन्च दार्शनिक भिक्टर ह्यूगो भनाई “दुनियाँमा समयले खोजेको विचारधारा भन्दा केहि पनि र कोहि पनि शक्तिशाली हुन सक्दैन” स्मरण योग्य छ । कुनै पनि राजनीतिक दल समय सापेक्ष र भविश्यमुखी हुनुपर्दछ । आजका युवाको राजनीतीक चेतनाले नै नेपाली कांग्रेस पार्टी जिवन्त बन्न सक्दछ । 

तर, नेपाली कांग्रेस पार्टीमा युवा पुस्ताको सहभागीता भरोस लाग्दो छैन किन ? विज्ञान र प्रविधीको संयोजन गरी युवाको क्षमता विकास र देशको भविश्य निर्माणको काममा हामी कहिं कतै पो चुक्यौं की ? युवाहरु विज्ञान संगत तथ्य र अनुसन्धानमा आधारित रहेर सोच्ने, बोल्ने, लेख्ने र निर्णय गर्ने भएकोले नेतृत्व पनि सोही स्तरको हुनु पर्दछ ।

प्रा.डा. कृष्ण खनाल भन्नुहुन्छ “नेतृत्व भनेको पद होइन उसको विचर, नीति र क्रियाशिलता हो ।” नेपाली कांग्रेस कुनै वर्गविशेषको पार्टी नभएर महिला, मजदुर, शोषित, पीडित, किसान, व्यपारी, उद्यमी, प्राज्ञा, कलाकार, राष्ट्रसेवक सवैको साँझा भन्ने झल्को दिनेगरी वर्ग उत्थानका ठोस कार्यक्रमहरु १४औं महाधिवेशनले ल्याउन सक्नु पर्नेछ । किनभने महाधिवेशन नेतृत्व गर्ने ठाउँ मात्रै होइन नीति निर्माण गर्ने अवसर पनि हो । 

हाम्रा प्राकृतिक सम्पत्ति जल, जमिन, जंगल, हिमाल, ताल, सीमसार र मनोरम स्थलको समुचित उपयोग र खानीजन्य वस्तुको प्रयोगमा भविश्यको माग समेतलाई अनुमान गरी पार्टीको धारणा स्पष्ट आउनुपर्ने छ । 

विगत साढे तीन वर्ष देखि स्थानिय निकायमा रहेर जनताको जिवनस्तर उकास्न खटिएका पार्टी कार्यकर्ताले सन्चालन गरेका योजनाहरु र नेपाली कांग्रेस पार्टीको घोषणापत्रले गरेको मार्ग निर्देशन बारे पनि बेखवर बन्नु हुदैन महाधिवेशन ।

संवैधानिक राजतन्त्र, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता कांग्रेसले अनवरत अघि बढाएको विचार र सिद्धान्त थियो । मुलुकले पंचायतको अवसान पछि बहुदलीय व्यवस्था, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका अभ्यासहरु विभिन्न काल खण्डमा प्रयोग गर्दै जाँदा करिब ३ दशकको अवधिमा नेपाली कांग्रेस पार्टीको निर्णायक तह र सरकारमा आज गनिएका झण्डै ८० प्रतिशत नेताहरुकै नेतृत्वको हालिमुहाली थियो । 

यही नेतृत्वले स्वास्थ्य, शिक्षा, संचार र वायु सेवामा व्यपारीकरण तथा कार्यकर्ताहरुमा वितृष्णा एवं जनतामा निरासा, शुभचिन्तकहरुमा लज्जाबोध र मतदाताहरुमा शान गुमेको प्रत्याभूति बाहेक केही गराउन सकेन । 

के कांग्रेसका अफ्ना मुद्दा छैनन् ? कांग्रेसले मुलुक रुपान्तरीत भएको अवस्थामा राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणका मुद्दाहरू परिष्कृत गर्दै लैजाने कार्यभारको महशुस गर्नु पर्दैन ? बीपीले सिञ्चित गरेको पार्टी, लोकतान्त्रिक आन्दोलनहरूमा अग्रणी भूमिका निर्वाह गरेको पार्टी र सबैभन्दा पुरानो पार्टी परिचयको सीमामा कैद भएर अब कांग्रेस अघि बढ्न सक्दैन ?

२००७ सालदेखि आज पर्यन्तका सबै क्रान्ति र जनआन्दोलनको अगुवाइ गर्दै परिवर्तको प्रत्याभूति गराउँन सफल यो पार्टी आन्तरीक राजनीतिक व्यवस्थापनमा किन र कहाँ कमजोर रह्यो ? चलायमान किन हुन सकेन ? पुराना क्रियाशील साथिहरु किन सदस्यता नविकरण गर्न उत्साहित देखिएनन् ?, हिजो गाउँघरका साधारण जनताको चिन्ता लिने कांग्रेस आज कता अल्मलियो ? जस्ता हरेक प्रश्नहरुको जवाफ दिदै आसन्न महाधिवेशनले पार्टीको विचार, कार्यदिशा, नीति, कार्यक्रम निर्माण, पार्टीको विधान संसोधन र परिमार्जनमा इमान्दार भएर लाग्नुपर्ने छ ।

नेपाली जनताका निम्ति चाहिएको लोकतान्त्रिक समाजवाद हो । विश्वमा उदारवादी विचारले गरिब जनताको चुलाचौकाको समस्या समाधान गर्न नसकेको यथार्थ पनि हाम्रो सामु छ । 

विदेशी ऋणभारले केही चौडा सडक, अग्ला भवन, चिल्ला गाडी र आलिसान महल ठडिँदैमा आर्थिक रुपले बिपन्न नेपाली जनताको जिवनस्तर उठ्न सक्दैन । लोक कल्याणकारी पार्टीको प्राथमिकतामा परेका दुई छाक टार्न मुस्किल बिपन्न जनता तथा शिक्षित वेरोजगार युवा नौजवानले खाडी मुलुकमा न्युन बेतन (पारिश्रमिक) मा रगत पसिना बगाई रहँदा हाम्रा श्रमिकको शिप, दक्षता र क्षमता अभिबृद्धीकालागी नेपाली कांग्रेस सरकारमा रहँदा के गर्यो ? सिकाईका अधार के गर्ने ? भन्ने प्रष्ट मार्गचित्र दिदै मुहारमा हाँसो र मनमा शान्ति दीन सक्ने भरोसा लाग्दो नेतृत्व हाम्रो आवश्यकता हो । 

आलोचना लोकतन्त्रको प्राणबायु हो, आलोचना गर्नेलाई गुटको ट्याग लगाउने परम्पराको अन्त्य गर्दै नेतृत्व कम्तिमा व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिमा केन्द्रीत हुनुपरेको छ । लोकतन्त्रमा शक्ति एकल हुनै सक्दैन, शक्तिको प्रत्यायोजनका लागी मापदण्ड निर्धारण हुनुपर्दछ । हिजोका मापदण्ड आज पर्याप्त हुन सक्दैनन् । 

नेपाली कांग्रेसको यो महाधिबेशन संघिय संरचना अनुसार सम्पन्न हुँदैछ । यसमा पनि पुराना क्रियाशिल सदस्यता संख्याको सत् प्रतिशत नयाँ थप सदस्य र दोब्वर प्रतिनिधि/नेतृत्व चयनको अवसर यस महाधिवेशनलाई छ । प्रत्यक्ष र समानुपातिक पद्धतिको अवलम्वन विधि अपनाएकाले सहभागितात्मक र समाबेशीतामुलक लोकतान्त्रीक दल बनाउने उदेश्य नेपाली कांग्रेसले लिएको छ । महिला सहभागिता ३३ प्रतिशतको ब्यवस्था गरिएको भएतापनि मूल नेतृत्वमा सहभागिता सुनिश्चित नभएकोले विरोधका आवाजपनि यस महाधिवेशनले सामना गर्नुपर्नेछ । 

इतिहासदेखि आज सम्म नेतृत्व तहनै विज्ञको रुपमा प्रस्तुत हुँदै गर्दा प्राज्ञा, विषयविज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिकहरु अपेक्षित भएको भावना झिनो स्वरमा औपचारिक वा अनौपचारिक फोरमहरुमा उठ्ने गरेका छन् । तसर्थ यस पटकको महाधिवेशनमा खुलेर छलफल हुन सकोस् । १४औं महाधिवेशनको सफलता पनि यही हुने छ, अन्यथा इतिहासले हामीलाई माफ गर्ने छैन । 

चेतना भया कांग्रेस जनमा ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation