सुरू भयो ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने द्रुत बस सेवा

 अर्थ बुलेटिन   ३ असोज, २०८०



काठमाडौं । ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवा सञ्चालनमा आएको छ। संविधान दिवसका अवसरमा सूर्यविनायक-रत्नपार्क रूटमा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्ति बाटिकामा द्रुत बस सेवाको शुभारम्भ गरेका छन्।

मन्त्री ज्वालासहित मन्त्रालय र विभागका अधिकारीहरूले बसमा यात्रा गरेका छन्। सुरूमा २५ वटा द्रुत बस चल्ने छन्।  यी बसका लागि छुट्टै लेन (रातो रङले छुट्टयाइएको) छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।

पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ।  यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।

ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ।मास ट्रान्सपोर्टेसन अवधारणाले सार्वजनिक सवारी प्रयोगमा प्रोत्साहन हुने र निजी सवारी प्रयोग गर्नेको संख्या घट्ने उनले बताए।

‘यसो हुँदा सडकमा जाम कम हुन्छ र व्यवस्थित हुन्छ भन्ने विश्वास हाम्रो हो,’ उनले थपे। पनेरूका अनुसार सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहन्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ।

कार्यालय समयमा अत्यधिक जाम हुने हुने कुरालाई मध्यनजर गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याइएको पनेरू बताउँछन्। ’कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्क पुग्नलाई डेढ घन्टासम्म लाग्ने रैछ। हाम्रो लक्ष्य ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्क पुर्‍याउने छ,’ उनले भने, ‘त्यसका लागि यात्रु चढाउने र ओराल्ने निश्चित ठाउँहरू तोकिएको छ र यस्ता बसहरूले यात्रु कुरेर बस्दैन। ३० सेकेन्डभित्र यात्रुलाई चढाउने र ओराल्ने काम हुन्छ।’

नेपाल यातायात व्यवसायी महासंघसँगको सहकार्यमा २५ वटा बस चलाइएको हो।  द्रुत बस सेवाअन्तर्गत चल्ने बसहरू छुट्टै हुँदैनन्। यो रूटमा यसअघि चल्ने ठूला बसहरूलाई नै चलाएको छ। यात्रुलाई यी बसहरू ठम्याउन सजिलो होस् भनेर बसको अगाडि भागमा द्रुत बस सेवा भनेर लेखिएको पनेरू बताउँछन्।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation