पत्रकारलाई निर्बाध काम गर्न देऊः महासङ्घ

 अर्थ बुलेटिन संवाददाता   २५ चैत, २०७६



काठमाडौँ । नेपाल पत्रकार महासङ्घले खोटाङ शाखाका सचिव उत्तम चौलागार्इंलाई प्रकाशित समाचारका विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले धम्की दिएको घटनामा दुःख व्यक्त गरेको छ । 

महासङ्घ खोटाङका अनुसार यही चैत २३ गते ‘प्रभावन्यूज डटकम’मा समाचार प्रकाशन भएपछि नेता श्रेष्ठले पत्रकार चौलागाईँलाई धम्क्याउनुभएको थियो । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्तिमार्फत प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसमाथि कानूनी उपचार खोज्ने वैधानिक विधि र पद्धतिलाई बेवास्ता गरेर प्रमुख दलका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई धम्क्याउनु दुःखद् भएको टिप्पणी गर्दै सो घटनाको भत्र्सना गर्नुभएको छ ।

 पत्रकारलाई स्वतन्त्र एवं निर्बाधरुपमा काम गर्ने वातावरण निर्माण गर्न र तिनको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गर्दै महासचिव विष्टले कोरोना भाइरसको उच्च सङ्क्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र सघाउन सबैलाई आग्रह गर्नुभएको छ ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation