कोभिड–१९ सङ्क्रमितको उपचारसँगै पाटन अस्पतालको सबै सेवा नियमित

 अर्थ बुलेटिन संवाददाता   २ बैशाख, २०७७



काठमाडौँ । लगनखेलस्थित पाटन अस्पतालले कोभिड–१९ का सम्भावित सङ्क्रमितको उपचारसँगै यहाँ आउने सबै रोगका बिरामीको उपचार गरिरहेको छ । 

अस्पतालले कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेसन शय्या’ मा राखेर उपचार गरिरहेको छ । अरु सबै किसिमका समस्या लिएर बिरामीहरु अस्पताल आइपुग्ने गरेका छन् । ती बिरामीको पनि उपचार गरिएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताउनुभयो । ‘लकडाउन’ का कारण बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले सङ्ख्या घट्नु स्वभाविक भएपनि अस्पतालले सबै सेवा नियमित गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्या कम भएपनि सबै खालका बिरामी आइरहेका छन् ।” 

 काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च रहने अस्पतालमध्ये यो अस्पताल पनि एक हो । सामान्य अवस्थामा दैनिक झण्डै दुई हजार बिरामी आउने गरेकामा ‘लकडाउन’ यता यो सङ्ख्या घटेर दैनिक दुई सय हराहरीमा पुगेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसूति सेवाका लागि आउनेको सङ्ख्या पनि धेरै छ । त्यो सङ्ख्या ‘लकडाउन’ पछि पनि खासै कम नभएको निर्देशक डा. शर्माले बताउनुभयो ।

 सरकारले यो अस्पताललाई कोभिड–१९ को केन्द्र अस्पतालका रूपमा तोकेको छ । अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने शय्या (आइसोलेसन वार्ड) को व्यवस्था गरिएको छ । यही शय्यामा बिरामीलाई सङ्क्रमण परीक्षण हुने गरेको निर्देशक शर्माले बताउनुभयो । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालमा छुट्टै १५ शय्याको व्यवस्था छ । अस्पतालमा अहिले पनि हिजो काँडाघारीको सनसीटि अपार्टमेन्टबाट आएका एउटै परिवारका तीन जना व्यक्ति छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छ । उनीहरुमा अरु स्वास्थ्य समस्या नदेखिएको उहाँले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणको सम्भावना देखिएर अहिलेसम्म ‘आइसोलेसन वार्ड’ मा राखिएका ३८ जना घर फर्किएको अस्पतालले जनाएको छ । 

 अस्पतालमा अहिले २० वटा सघन उपचार कक्ष रहेका छन् । कतिपय शय्यामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी भइरहेको छ । तत्कालका लागि अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताउनुभयो । भविष्यमा माहामारीकै अवस्था आउँदा अपर्याप्त हुनसक्ने भएपनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । जिल्लामा रहेका अस्पतालले पनि उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ ।    
 

 पाटन अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि दुई साता पहिलेदेखि आफैँले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) बनाउन थालेकामा अहिलेसम्म झण्डै दुई सय थान तयारी गरिसकेको छ । तीमध्ये धेरै प्रयोगसमेत भइरहेको र कतिपय आगामी दिनमा प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । ‘पिपिई’ अभावको अवस्था आउन नदिन अस्पतालले भने आफैँ निर्माण शुरु गरेको निर्देशक डा. शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “चीनमा रोगको सङ्क्रमण देखिएपछि नै यहाँ पिपिई बनाउने योजना बनाइएको थियो, नेपालमा नै सङ्क्रमित बिरामी देखिएपछि बनाउन शुरु गरिएको हो ।”

 अस्पतालले यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई नै आवश्यक भएकाले पिपिई बनाउन शुरु गरेको हो । आइसोलेसन वार्डमा रहेका बिरामीको उपचारमा संलग्न चिकित्सकले पिपिई प्रयोग गर्दै आएका छन् । अस्पतालमा पिपिई बनाउन थालिएको भनेपछि धेरैले अरु अस्पतालका लागि वा बेच्नका लागि भन्ने भ्रममन्दा मा रहेका छन् । भविष्यमा यहाँको आवश्यकताभन्दा बढी हुँदा अरु अस्पताललाई सहयोग पनि गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको उत्पादनको अवस्था हेर्दा अरुलाई दिन सकिने अवस्था भने आइसकेको छैन ।”     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation