वैशाख १५ गते सम्म लकडाउन लम्बियो

 अर्थ बुलेटिन संवाददाता   २ बैशाख, २०७७



काठमाडौं । लकडाउन आगामी वैशाख १५ गते सम्मका लागि लम्बिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको  हो । 

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो । 

हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए । 

अहिले सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ४ जना कोरोना संक्रमित उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्। 

यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ । यता छिमेकी देश भारतले भने वैशाख २१ गतेसम्म लकडाउन घोषणा गरेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation