धादिङमा एक जनालाई कोरोना भाइरस पोजेटिभ देखियो

 अर्थ बुलेटिन संवाददाता   २ बैशाख, २०७७



धादिङ ।    धादिङमा एक जनामा कोरोना भाइरस  पोजेटिभ देखिएको छ ।  धादिङको ज्वालामुखी गाउँपालिकाका एक व्यक्तिको रगतको नमूना र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएको हो ।

  सम्बन्धित गाउँपालिकाका अध्यक्ष  विनेदराज तिमिल्सिनाले दिएको जानकारी अनुसार ज्वालामुखी गाउँपालिकाका ती व्यक्ति कोरियाबाट हालै नेपाल फर्किएका थिए । परीक्षणका क्रममा पोजेटिभ देखिएपछि उनलाई काठमाडौं लैजाने तयारी गरिएको छ । 

ती व्यक्ति कोरियाबाट आएको एक महिनाभन्दा बढी समय भइसकेको र घरमै होम क्वारेन्टाइनमा रहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा ३६ जनाको र्‍यापिड टेस्ट गरिएकोमा अन्य ३५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । र्‍यापिड टेस्टमा मानिसको शरीरमा एन्टिबडी छ कि छैन भनेर हेरिन्छ ।

भाइरसको संक्रमण हुँदा त्यसविरुद्ध लड्न शरीरले एन्टिबडी उत्पादन गर्ने गर्छ, शरीरमा एन्टिबडी भेटिएपछि केही महिनाभित्रमा भाइरसको संक्रमण भएको हुनसक्छ भन्ने अर्थ लाग्ने चिकित्सकहरू बताउँछन् ।

हालको समयमा उक्त व्यक्तिको शरीरमा भाइरस छ कि छैन भन्ने निर्क्यौल गर्न भने पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने हुन्छ । ती व्यक्ति हाल कोरोना संक्रमित रहे/नरहेको काठमाडौं ल्याएर पीसीआर टेस्ट गरेपछि मात्र पक्का हुनेछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation