कोरोना रोकथाम कोषमा सिभिल बैंकको सहयोग

 अर्थ बुलेटिन संवाददाता   ५ बैशाख, २०७७



काठमाडौँ  । सङ्घ र प्रदेश सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिभिल बैंक र बैंकका सञ्चालक तथा कर्मचारीबाट रु ८७ लाख सहयोग गरिएको छ । बैंकले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र प्रभावितका लागि सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन बैंक आफैँले रु ७० लाख र बैंकका कर्मचारी तथा सञ्चालकबाट १७ लाख गरी रु ८७ लाख सहयोग गरेको जनाएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बाँकी बैंकको सञ्चालक समितिको बैठकको भत्ता र कर्मचारीले आफ्नो तलबबाट कटौती गरेर रकम प्रदान गरेको जनाइएको छ । सहयोग प्रदान गरिएको रकम मध्यबाट रु ४३ लाख ५० नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा पठाइएको र सातै प्रदेश सरकारलाई प्रतिप्रदेश रु पाँच लाखका दरले रु ३५ लाख प्रदान गरिएको बैंकले जनाएको छ । यस्तै रु आठ लाख ५० हजार रुपैँया भने बैंकको प्रदेश प्रमुखमार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिएको जनाइएको छ । 

सरकारी कोषमा विभिन्न बैंक तथा सङ्घ संस्थाबाट आवश्यक सहयोग आउने क्रम जारी छ । कुनै संस्थाले आन्तरिक रुपमा रकम उठाएमा एक हप्ता भित्र कोषमा जम्मा गर्न सरकारले अनुरोध गरेको छ । सरकारले जथाभावी रुपमा रकम नउठाउन अनुरोध गर्दै उठाएको रकम सरकारी खातामा जम्मा गर्नुपर्ने यसअघि नै निर्णय गरिसकेको छ ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation