लकडाउन अझै कडा गर्न प्रधानमन्त्रीको निर्देशन अलपत्र मजदुरबारे मौन

 अर्थबुलेटिन संवाददाता   ५ बैशाख, २०७७



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले  आज  साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर लकडाउनलाई थप कडाइ पार्न निर्देशन दिएका हुन् ।

मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कारवाहीको दायरामा ल्याउन समेत निर्देश गरेका छन् ।

प्रधानमन्त्री ओलीको प्रश्न थियो,  ‘लकडाउनलाई कडिकडाउ गर्नु, कसैलाई पनि छुस्रुक्क पनि हिँडन नदिनु,’ प्रधानमन्त्री ओलीले दिएको निर्देशन उद्धृत गर्दै एक सुरक्षा अंगका प्रमुखले भने, ‘लकडाउन सवैका लागि हो । यसको कार्यान्वयन गर्ने मुख्य दायित्व सुरक्षा निकायको हो, यस्तो अवस्थामा सुरक्षा निकाय के हेरेर बसेको छ ?’

यद्यपि, बैठकमा अलपत्र मजदुरका बारेमा भने प्रधानमन्त्री ओली मौन प्रायः बसे । एक मन्त्रीका अनुसार लकडाउन प्रभावकारी बनाउने भनिएपनि पैदल हिँडेर अलपत्र परेका मजदुरका बारेमा खासै छलफल र निर्देशन भएन । सरकारले लकडाउनपछि मर्कामा परेका मजदुर वर्गको व्यवस्थापन गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले विशेष बैठक बोेलाएर उनीहरुको व्यवस्थापन गर्ने अपेक्षा गरिएको थियो ।

अलपत्र मजदुरबारे प्रधानमन्त्रीले भने,  ‘लकडाउमा आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । बरु खान नपाएरै जान लागेका हुन् भने खाद्यान्नको व्यवस्था गर्नु ।’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation