शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त

 अर्थबुलेटिन संवाददाता   २३ असार, २०७७



काठमाडौं । नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री (आईजीपी) नियुक्त भएका छन्।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) क्षेत्री वरीयतामा पहिलो नम्बरमा रहेका थिए ।  मंगलबारको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर  बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए ।

नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् । थापाका एक समकक्षीका अनुसार फिल्ड कमाण्डमा भने उनी कमजोर अधिकृतका रुपमा चिनिन्छन् ।

सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका छन् । थापा बाबु शम्भु थापा २०५१÷०५२ ताका डीआईजीबाट अवकाश पाएका अधिकृत हुन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation