त्रिवि – आंशिक प्राध्यापक लडाई : सेवा आयोगमा ताला“त्रिवि भन्छ पहिला परिक्षा अनि करार, आंशिक भन्छन् पहिला करार अनि परिक्षा”

 अर्थ बुलेटिन   ११ सावन, २०७८



काठमाडौं । “समान कामको, समान ज्याला” भन्ने नारा बोकेर वर्षौदेखि आन्दोलनरत आंशिक प्राध्यापकहरु र त्रिविका बिचमा पटक पटक कुरा मिले–मिले जस्तो हुन्छ अनि फेरी हलो अड्कन्छ । 

त्रिवि र आंशिक प्राध्यापकहरुका विचको यो समस्या आजको होइन । विगत झण्डै १५ वर्षदेखि निरन्तर चलिरहेको समस्या हो । 

यो १५ बर्षे अवधिमा देश द्वन्द वाट शान्ति प्रक्रियामा आइसक्यो, राजतन्त्रवाट गणतन्त्रमा आइसक्यो, झन्डै एक दर्जन सरकार परिबर्तन भइसक्यो, त्रिविमा आधा दर्जन भिसी परिबर्तन भइसके, त्रिविले २/४ पटक सेवा आयोगको परिक्षा संचालन गरिसक्यो, विश्वलाई नयाँ प्रजातिको कोरोना भाइरसले आक्रान्त बनाइसक्यो । तर, आंशिक प्राध्यापकहरु बर्षौ देखि एक सुत्रिय नारा बोकेर हिड्दा पनि अझै हलो अड्किएको अड्कियै छ । 

यो बिचमा आंशिक प्राध्यापकहरुको तर्फवाट पनि विविध चरणका आन्दोलन भए, आमरण अनसन सम्मका गतिविधि भए, भिसी कार्यालयमा महिनौ आन्दोलन चले, धर्ना बसे, त्रिविका विभिन्न कार्यालयहरुमा ताला समेत लगाउन भ्याए तर खै त समस्याको समाधान ? आखिर कहाँ र के कुरामा हलो अड्किएको छ त ?

आंशिक प्राध्यापकको मुद्दालाई नजिकवाट नियालिरहेको यो सम्पादकले त्रिविका पदाधिकारीहरु, ‘रिटायर्ड’ केहि प्रोफेसरहरु, हाल कार्यरत स्थायि केहि प्राध्यापकहरु र आन्दोलनरत आंशिक प्राध्यापकहरु लगायतकासंग समेतको टेलिफोन छलफल पछि विभिन्न कोणवाट मुल्याङकन गर्दै लेख तयार पारिएको छ ।

पछिल्लो गतिविधिः

लामो समयदेखि पटक पटक भएको आन्दोलन र सम्झौताहरु मध्यमा पनि आंशिक प्राध्यापकले २०७७ पौष २४ को सम्झौतालाई निर्णायक सम्झौता र ठुलो उपलव्धि ठाने र आन्दोलनका अगुवाहरुले यसको स्वागत गरे तैपनि पनि केहि प्राध्यापकहरुले यसको कार्यन्वनयमा आंशका व्यक्त गरे । 

त्रिवि निरन्तर आफ्नो कार्यमा अघि बढिरह्यो र उसले आफ्नो इतिहासमा पहिलोपटक ठूलो संख्यामा स्थायिको रिक्त दरबन्दिको लागि कोरोना महामारिका विचमा २०७७ फागुण ९ आवेदन आह्वान गरयो, आवेदन संकलन गरयो, २०७८ श्रावण १ मा परिक्षार्थीको नामावली प्रकाशन गर्यो र अन्ततः २०७८ श्राबण ९ मा परिक्षाको कार्यक्रम (तालिका) समेत सार्बजनिक गर्यो ।

त्रिविको यो गतिविधिसंग शंशकित र आक्रोसित बनेका आंशिक प्राध्यापकहरु अन्ततः परिक्षाको तालिका सार्बजनिक भएकै दिन तत्काल परिक्षा स्थगित गरी आंशिक शिक्षकको समस्या समाधान गर्न माग गर्दै त्रिवि सेवा आयोगमा छलफलमा वसे तर छलफलमा त्रिवि सकारात्मक नदेखिएको भन्दै आंशिक प्राध्यापकहरुले सेवा आयोग, भिसी कार्यालय, रेक्टर कार्यालय र रजिष्टारको कार्यालयमा तालाबन्दि गरे । पछिल्लो समय गरिएका छलफल र तालावन्दिहरु गोकुल लिम्वुको नेतृत्वमा नबगठित संघर्ष समितिको अगुवाइमा संचालन भएका छन् ।

“एजेण्डा एक, नेतृत्व अनेक”, फुटाउ र राज गरको नीतिमा त्रिवि

बर्षैदेखि चलिरहेको आंशिक प्राध्यापकहरुको एक शुत्रिय माग “समान कामको, समान ज्याला” र यसका लागि विना शर्त आंशिकलाई करार गरिनुपर्ने भन्ने हो । यहि विषयलाई उठाउदै आंशिक प्राध्यापकका विभिन्न समितिहरु बने । बनेका पूर्बवर्ति समितिहरुलाई त्रिविसंग साठगाठ गरी आंशिक शिक्षकहरुलाई धोका दिएको, नेतृत्वकर्ताहरु राज्यका नियुक्तिको प्रलोभनमा फसेको, नेतृत्वकर्ता तथा वार्तासमितिका पदाधिकारीहरु आफ्नो करार सुनिश्चित गर्दै वार्ता टुङ्ग्याउने गरेको जस्ता आरोपहरु लाग्दै अर्को समितिहरु बन्ने गरेका छन् । यो सिलसिला निरन्तर जारी रहेको छ । फलत पछिल्लो हप्ता पुनः एक नयाँ समिति बनेको छ । 

यद्यपी, ‘पूर्ण होस् वा अपूर्ण’ बनेका हरेक समितिहरुले केहि न केहि आंशिकका पक्षमा निर्णयहरु गराउन भने सफल भएकानै छन् । भलै ति विषय÷निर्णयहरु कार्यन्वयनमा जान नसकेको भएतापनि । हालका दिनमा ३ वटा विभिन्न फरक फरक समितिहरु बनेर एकै एजेन्डालाई वोकेर आ–आफ्नै ढंगवाट संघर्षको मैदानमा उत्रिएका छन् । 

ति समितिहरुका बिचमा आन्तरिक समन्वय कमजोर बन्दै गएको छ । एक आंशिक प्राध्यापक भन्छन् “जति जति हाम्रा साथिहरु टुक्रा टुक्रा हुन्छन् त्यतिनै हामि कमजोर र त्रिवि बलियो हुदै जानेछ । त्रिवि आंशिकलाई ‘फुटाउ र राज गर’ को नीतिमा अघि बढेको जस्तो भान हुन्छ । तर, हाम्रा साथिहरुले यो कुरा बुझ्न सक्नुभएको छैन ।”

हाल जिवित रहेका समितिहरुमा सबैभन्दा पुरानो समिति हो डा. महेश कुमार गजुरेल नेतृत्वमा रहेको समिति । यस समितिले आमरण अनसन देखि विभिन्न हन्डरहरु झेल्दै १५ बर्षे यात्रा पार गरेको छ । १५ बर्षको यो अवधिमा यो पुरानो समितिले २०७४ साल मंसिरमा शेरबहादुर देउवा प्रधानमन्त्री र तिर्थ खनिया भिसी भएको पालामा २०७२ साल अघिका १४२० जनालाई ‘फुल करार’ गर्ने निर्णय गराउन सफल भएको छ । तर यसको कार्यन्वयन हुन अझै सकेको छैन । यो समिति पनि आरोपवाट चोखो भने रहन सकेन । समितिका शशि कुमार शर्मा राजनितिक नियुक्ति लिएसंग आन्दोलन तुहाउन लागि परे र यो समिति सिथिल बन्दै गयो भन्ने आरोप लाग्यो । 

यस्तै, हाल जिवित दोश्रो समितिमा चन्द्र बदना राइको नेतृत्वमा राजेन्द्र गिरी महासचिव रहेको समिति हो । यो समितिले पनि २०७७ साल पौषदेखि सक्रिय र निर्णायक आन्दोलन अभियान आरम्भ गरयो । २४ दिने त्रिवि घेराउ कार्य गर्यो । अन्ततः पुर्ववत १४२० सम्झौताको अवाला पनि थप संख्यामा आन्तरिक (सम्वन्धित कलेजले आफ्नो श्रोतवाट) करार गराउने विषयमा सहमति गर्यो । यो थप संख्या करिब ४/५ सयको हाराहारीमा हुन सक्ने सहितको बसह र जानकारी महासचिव राजेन्द्र गिरी र वार्ताका सदस्य हरिकृष्ण अर्यालले विभिन्न फोरमहरुमा भन्न थाले । यसले केहि विवाद र दोश्रो समितिका नेतृत्वकर्ता माथि अविश्वासको वातावरण बनायो । समितिका पदाधिकारीहरु र वार्तासमितिसंग अन्य शिक्षकहरु आगो भए । यो संगै समितिका अध्यक्षले राष्ट्रिय खेलकुद परिषद्मा राजनितिक नियुक्ति लिएर आंशिकको मुद्दालाई कमजोर बनाउन लागि परेको भन्ने पनि आरोप लाग्यो । बार्ता समितिका पदाधिकारी तथा केहि नेतृत्वकर्ता ४/५ सय को संख्यामा गरिने आन्तरिक करारमा आफ्नो सिट सुनिश्चित बनेको भन्दै आम अन्य शिक्षकहरुलाई धोका दिदै आन्दोलनको मोर्चावाट ‘ब्याक’ भएको आरोप पनि लाग्यो । 

यिनै आरोपका बिच पुनः पछिल्लो हप्तामा अर्थात श्रावण ९ गते तेश्रो समिति गठन भएर हालको तालाबन्दि सहितका आक्रमक कार्यमा लागि परेको छ । यो तेश्रो समितिको नेतृत्व गोकुल लिम्बुले गरेका छन् । ‘संघर्ष समिति’ को नामाकरण गरिएको यो समिति पनि पहिलो र दोश्रो जस्तै आफ्नो छुट्टै परिचय बोकेर संघर्ष गर्न तयार रहेको संयोजक लिम्वुले अर्थ बुलेटिनलाई बताए । उनले भने ‘यो समिति हाल देशभर कार्यरत सबै आशिंकहरुको करारको एक सुत्रिय मुद्दामा केन्द्रित साझा र आधिकारीक समिति हो । हामि पूर्बबर्ति समितिहरु जस्तो कुनै जालझेल र लोभ मोहमा पर्ने र आफ्नो मात्रै दुनो सोझाउने जस्ता कार्यमा लाग्ने छैनौ ।’

आन्दोलनको मोर्चामा त्रिवि परिसरमा भेटिएका अर्का एक आंशिक प्राध्यापक धेरै समितिहरु बनेकोमा चिन्ता व्यक्त गर्दै भन्छन् ‘आन्दोलन आवश्यक छ तर हामि सबै समितिहरु एकै ठाउँमा उभिएर एक हुनु पनि आवश्यक छ । विगतका समितिहरुले गरेका राज्यको १४२०, आन्तरिकको ४/५ सय तथा वाँकी कोर्स करारलाई तत्काल कार्यन्वयन गराउन सक्ने हो भने करिब २००० साथिहरु समेटिन्छौ । सरसरति हेर्दा देशभरका कलेजहरुमा यस्तै २०००/२२ सयको संख्यामानै करार साथिहरु हुनुहुन्छ होला । यसमा ३/४ सय जति दोहोरो सेवा सुविधामा हुनुहुन्छ । यो संख्या घट्दा वाँकी रहने त्यस्तै २००० जति होला । हालसम्मका सबै समितिका प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्न सके हाम्रो सबै साथिहरु करार हुने र माग पुरा हुने हुन्छ होला जस्तो लाग्छ ।’

“त्रिवि भन्छ पहिला परिक्षा अनि करार, आंशिक भन्छन् पहिला करार अनि परिक्षा”

त्रिवि र आंशिक प्राध्यापकहरुका बिचमा किचलो हरेक विषयमा हुदै आएको छ । आंशिक प्राध्याकहरुलाई सम्मानजनक व्यवस्थापन गर्ने भनेर सम्झौता गरेको त्रिविले सम्झौता कार्यन्वयनका लागि भन्दै आवेदन आह्वान गर्यो । तर, यो कदमलाई आंशिक प्राध्यापकहरुले त्रिविले सम्झौताको कुठाराघात गरेको भन्दै मन्द आवाज उठाईनै रहे । 

‘आह्वान गरिएको आवेदन नै रोक्न पर्छ भन्नेमा केहि आंशिक प्राध्यापकहरुले माग गरिरहे, नेतृत्वकर्ताहरुलाई निरन्तर दवाव दिइरहे तर मन्द यो आवाजलाई आंशिकका नेतृत्वकर्ताहरुलेनै नसुनेझै मौन बसे त्रिविसम्म त कसरी दवाव पुगोस् र’ एक आंशिक प्राध्यापकले यो सम्पादकसंग गुनासो गरे । 

त्रिवि पहिला परिक्षा संचालन गरी रिक्त पदपुर्ति भरेर अनि बल्ल आंशिकको मुद्दामा प्रबेश गर्ने तयारीमा छ भने आंशिक प्राध्यापकहरु पहिला आंशिकको मुद्दा सम्वोधन हुनुपर्ने र अनि बल्ल परिक्षा संचालन गर्नुपर्ने भन्ने पक्षमा छन् । किन यहाँनिर मत बाझिएको छ त ? को सहि ? को गलत ? के गर्दा कसलाई कति फाइदा ?

त्रिविको चाहना हो, पहिला स्थायि दरबन्दिको काम सक्न पाएको खण्डमा केहि आंशिक प्राध्यापकहरु नाम निकाल्न सफल भई स्थायि दरबन्दिमा प्रवेश गर्नेछन् र करिब ७०० को संख्यामा दरबन्दिको काम सकिदा करारको आबश्यकता पनि कम हुन्छ । कक्षाभार पुग्नेको संख्या कम हुन्छ र ठुलो संख्यामा आंशिक प्राध्यापकहरुलाई वहिर्गमन गर्न सकिन्छ । अनि अत्याआवश्यक पर्ने विषय र संख्यामा क्याम्पसहरुको आन्तरिक श्रोतवाटनै आंशिक प्राध्यापकहरुलाई करार गराउन सकिन्छ । यसमा त्रिविको टाउको दुखाई कम हुनेछ ।

त्रिविको यो चालवाझिलाई नजर अन्दाज गर्दै, आंशिक प्राध्यापकहरु भने पहिला आंशिकको मुद्दा सुनुवाई हुनुपर्ने पक्षमा रहेका छन् । 

उनिहरुको बुझाईपनि त्रिविको जस्तै, पहिला स्थायिको काम गरिएको खण्डमा नयाँ करिब ७०० को संख्यामा स्थायि पदपूर्ति भएपछि आंशिकको आबश्यकता कम हुनेछ । करार गर्दा आंशिक प्राध्यापहरुको पुरा हुनुपर्ने विविध सूचकहरु मध्येमा एक मुख्य सूचक ‘कक्षाभार पुगेको हुनुपर्नेछ’ भन्नेमा धेरै शिक्षकहरुको कक्षाभार नपुगि वर्हिगमन हुनुपर्ने अवस्था आउन सक्छ भन्ने चिन्ताले सताएको छ । त्यसैले, आंशिक प्राध्यापकहरु पहिला आफ्नो मुद्दा समाधान नगरी स्थायिको दरबन्दि कार्यन्वयन गर्न दिने पक्षमा छैनन् ।

त्रिविले आफ्नो मिसन पुरा गर्नका लागि पहिला परिक्षा संचालन गर्न जरुरी छ भने आंशिकहरु प्राध्यापकहरुलाई आफ्नो मिसन पुरा गर्नका लागि कुनै पनि हालतमा परिक्षा रोकेर पहिला आफ्नो मुद्दा पुरा गराउनुपर्नेछ ।

को को सक्रिय छन् त लिम्वु नेतृत्वको समितिमाः

गोकुल लिम्वुको नेतृत्वमा बनेको ‘आंशिक प्राध्यापक केन्द्रिय संघर्ष समिति’ मा सहसचिवमा किरण भट्ट, प्रवक्तामा एल पि विष्ट, संचारमा माधव भुषाल लाई राखिएको छ । २५ सदस्य रहने यो समितिको पूर्णता दिन वाँकी रहेको र देशैभरका आंशिक प्राध्यापकहरुलाई समेटेर समिति तयार पारिने पनि लिम्वुले अर्थ बुलेटिनलाई बताउनुभयो । 

लिम्वु नेतृत्वको वार्ताको प्रगतिः

श्रावण ९ गते त्रिविले परिक्षाको कार्यक्रम तालिका सार्बजनिक गरेसंगै गठन भएको लिम्बु नेतृत्वको संघर्ष समिति त्यस यता दैनिक जसो त्रिविसंग बार्तामा बसेको छ । शनिवार सेवा आयोगका पदाधिकारीहरुसंग र आइतवार भिसी सहितका पदाधिकारीहरुसंग वार्तामा बसेको लिम्बुले बताए । 

२ दिन निरन्तर बसिएको वार्तामा त्रिवि कुनै प्रकारको सकारात्मक नदेखिएको र आंशिकको मुद्दामा उदासिन देखिएको पनि उनले बताए । यद्यपी, आइतवार भिसीसंग भएको लामो छलफल पछि त्रिविको तर्फवाट शिक्षाध्यक्षको अध्यतामा वार्ता समिति बनाउने बारेमा दुबै पक्षको सहमति भएको पनि लिम्बुले बताए । मंगलवार पनि वार्ताको लागि बोलाइएको र यो वार्ता पनि सकारात्मक नबनेको खण्डमा बुधवारदेखि वार्ताका सबै कार्यक्रम स्थगन गरी देशैभर शशक्त आन्दोलन अघि बढाउने लिम्बु नेतृत्वको समितिको तयारी रहेको उनले बताए । 

लिम्बु भन्छन् ‘हामिले १५ बर्ष देखि गर्र्दै आएको भद्र आन्दोलनलाई त्रिविले कमजोरीको रुपमा लिएकाले र अब आक्रमक आन्दोलन गर्नुको बिकल्प नभएर वाध्य भई आक्रमक कदम चालिएको हो । आक्रमक कदमको पहिलो संकेत त्रिविका विभिन्न कार्यालयहरुमा ताला लगाएर सुरुवात गरिसकेका छौ । अब छिट्टै त्रिविका सबै कार्यालयहरु, देशैभरका क्याम्पसहरु ठप्प पार्नेछौ । हाल चलिरहेको परिक्षालाई समेत अवरोध पुग्ने गरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउनेछौ । अब अन्तिम लडाईमा हामि पुगेका छौ । “म्इ यच म्क्ष्भ्” को अवस्थामा हामि आएका छौ ।’

उनले थपे ‘हाम्रो मुख्य मुद्दा एक शैक्षिक सत्र पुरा गरेका हरेक आंशिक शिक्षकलाई बिना शर्त करार गरिनुपर्छ भन्ने हो । विगतमा हाम्रा आफ्नै नेतृत्वका साथिहरुले आंशिक शिक्षकहरुलाई धोका दिएकाले हामि बर्षौ देखि आन्दोलन गर्दा पनि सफल हुन नसकेको हो । अब हाम्रो नेतृत्व आफ्नो लागि होइन सबैको लागि हो र हामि पहिलेका समितिहरुलाई पनि एकै कित्तामा उभ्याएर एक बनाएर लैजाने प्रयत्नमा पनि लाग्नेछौ ।’

यो पनि पढ्नुहोस् । 

यस अघि प्रकाशित त्रिवि र आंशिक प्राध्यापकसंग सम्वन्धित अन्य समाचारहरुः

त्रिविले झुक्याउदै आंगिक क्याम्पस र आंशिक प्राध्यापकहरुलाई
“किन मौन बसे केन्द्र देखि क्याम्पस सम्मको नेतृत्वकर्ता शिक्षकहरु ?”


त्रिवि भर्सेज आंशिक प्राध्यापक
आन्दोलनका अगुवाँहरुलाई राजनीतिक नियुक्तिमा लोभ्याउने प्रयासमा राज्य

 
अन्ततः बौद्धिक शोषणको अन्त्य हुने भो ।
त्रिवि र आंशिक प्राध्यापकबीच करारको लागि सम्झौता (अन्र्तवार्ता सहित)

तस्विरहरुः

त्रिवि सेवा आयोजमा ताला लगाउदै आंशिक प्राध्यापकहरु

बार्तामा बस्दै लिम्व् नेतृत्वको समिति



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation