निर्णय प्रक्रिया र व्यवस्थापकका चुनौती

 अर्थबुलेटिन संवाददाता   १८ मंसिर, २०७७



शिखरनाथ खनाल

दशैँ आउने बेला भएको थियो । उ आफ्नो दश वर्षको छोरालाई नयाँ लुगा किनिदिने विचार गर्यो र भन्यो, बाबु, तिमीलाई मैले एउटा टिसर्ट र एउटा शर्ट ल्याइदिए भने कुन रोज्छौं ?
छोराले भन्यो, टिसर्ट । टिसर्टमा पनि एउटा रातो र एउटा हरियो ल्याएभने कुन रोज्छौ ?
हरियो । दुइवटै टिसर्ट हरियो एउटा कलरवाला र अर्को राउन्डनेक ल्याए भने कुन रोज्छौ ?
राउन्डनेक ।
दुवै राउन्डनेक ल्याए भने ?
जुन हल्का र नरम छ त्यही रोज्छु ।
दुवै टिसर्ट हल्का र नरम ल्याए भने कुन रोज्छौ ?
अब छोरो अलमलमा पर्न थाल्यो । बाबुले उसलाई हैरानी दिन खोजेको जस्तो ठानेर रिसायो पनि । कति यस्तो र त्यस्तो भनेर दिक्क लगाइरहनुभाको ? पहिला टिसर्ट ल्याइ त दिनोस् । हजुरलाई मेरो लागि टिसर्ट ल्याइदिने विचारै छैन जस्तो छ ।
उ आफ्नो कार्यालयमा पनि यस्तै किसिमको अलमल र हैरानी महसुस गर्दथ्यो । विकल्पहरु धेरै  छन् ।

पुरै गलतवा सहीभन्ने कुनै छैनन् । सही सही मध्ये पनि कुन बढी उपयुक्त हुने भन्ने विश्लेषण गर्दा गर्दा उसको दिमाग चर्काउथ्यो । निर्णय गर्ने कठिन । विकल्पहरुका फाइदा बेफाइदा (मेरिट डिमेरिट) हरुको विश्लेषण गर्दा गर्दा लामो समय लागेपछि उसलाई भन्ने गरिन्थ्यो कि उ निर्णय गर्ने चाहँदैन । निर्णय गर्ने डराउछ । उसमा व्यवस्थापकीय क्षमता नै भएन । उ त निर्णयकर्ता होइन विश्लेषक मात्रैमा फिट हुने मान्छे रहेछ ।आदि आदि ।

निर्णय गर्नु वा डिसिजन  मेकिङ व्यवस्थापनका विद्यार्थीहरुको एउटा महत्वपुर्ण विषय (टपिक) हो भने व्यवस्थापकका रुपमा काम गर्ने हरुकालागि एउटा महत्वपूर्ण भुमिका हो । तर निर्णय प्रक्रिया सँस्थाको व्यवस्थापनमा मात्र नभएर व्यक्तिगत वा पारिवारिक वा सामाजिक जीवनमा समेत आइरहने विषय हो ।

निर्णय प्रक्रियालाई आधारभुत रुपमा विभिन्न विकल्पहरुका बीचमा सही विकल्प छान्ने प्रक्रिया भनेर बुझिन्छ । तर, कुराको गाँठो कहानेर आउछ भने सही र गलतको निक्र्योल कसरी हुने भन्ने । सही र गलत छुट्याउन सके त सही विकल्प छान्न जसले पनि सजिलै सक्ला । अनि विकल्पहरु गलत भए भने पनि कुनै विकल्प नलिएर तेस्रोको खोजी गरिएला । तर, त्यो भन्दा कठिन अवस्था तब हुन्छ जब हामी दुई वा सो भन्दा बढी सही सही विकल्पहरुका बीचमा पर्छौ  । 

निर्णय प्रक्रियालाई व्याख्या गर्ने दुई दृष्टिकोण छन् राशनल मोडेल (Rational Model) र विहे भियोरल मोडेल(Behavioral Model) । राशनल मोडलले निर्णयका ठोस आधार र औचित्यलाई ध्यान दिन्छ भने बिहेभियोरल मोडलले निर्णयकर्ताको रुचि वा मनपराइका आधारमा निर्णय लिने गरिन्छ भन्छ ।

राशनल मोडलबाट काम गर्दा पनि निर्णयकर्तालाई उपलब्ध समय, साधन, सुचना, सुचनाहरुको विश्लेषण गर्ने क्षमता आदि कुराहरुले विकल्पहरुको छनोटमा भुमिका खेल्दछन् र राशनलिटिको सट्टा सीमित (कन्स्ट्रेन्ड वाबोन्डेड) राशनलिटीले काम गरेको हुन्छ । अनि बिहेभिोरल मोडेलबाट हेर्दा निर्णयकर्ताको रुचि र मनपराइमा पनि उसका पुर्वाग्रहहरु, स्वार्थहरु, विगतमा गरेका प्रतिवद्धता, विभिन्न व्यक्तिव पक्षहरुबाट आउने स्वार्थप्रेरित दबाब, निर्णयपछि आउनसक्ने समर्थन वा बिरोधजस्ता कुराहरुले निर्णयहरुलाई प्रभावित गरिदिएका हुन्छन् ।

यसैले व्यवहारिक रुपमा कुनै व्यक्ति वा निर्णकर्ता विशुद्ध राशनल वा बिहेभियोरल हुन सक्दैन । राशनलिटी र बिहेभियोरल फ्याक्टरहरु दुबैको बीच एउटा सन्तुलन कायम गरेर ठोस औचित्यका साथ साथै आफ्नो रुचि र निर्णयले ल्याउनसक्ने परिवेशको समेत विचार गरेर निर्णय गर्नुपर्ने भएकाले नै निर्णय प्रक्रियाको वास्तविक गहनता स्थापित भएको हुन्छ ।
यदि कुनै हिसाब, मोडेल, फर्मुला, एल्गोरिदम वा सफ्टवेयरले जे राम्रो वा फाइदाजनक देखाउँछ त्यही सीधै निर्णय गर्न सकिने हुन्थ्यो भने निर्णय प्रक्रिया Decision making नभएर निष्कर्ष प्रक्रिया वा कन्क्लुजन मेकिंग(Conclusion making) मात्रहुन्थ्यो ।

तर, डिसिजन र कन्क्लुजन फरक छन् । कन्क्लुजन भनेको विश्लेषणले देखाउने सबैभन्दा फाइदाजनक विकल्प हो भने डिसिजन त्यो भन्दा फरक निर्णयकर्ताको व्यक्त वा अब्यक्त साेंच, पुर्वाग्रह, रुचि वा इन्ट्युशनका आधारमा आफ्नो स्वविवेक प्रयोग गर्ने अधिकारको प्रयोग गरेर गरिने छनोट हो जो कन्क्लुजन भन्दा फरक हुन सक्छ । विश्लेषणमा हाराहारी देखिने सही सही विकल्पहरुबाट निर्णयकर्तालाई हैरानी (perplexed) महसुस हुन सक्छ ।

एउटा विकल्प रोजेर अघि बढ्दा आएका कठिनाइले छोडिएको अर्को विकल्पको वकालत (एडभोकेसी)लाई बलियो बनाउन सक्छ । सही र गलतको पुरा वास्तविकता निर्णयपछि कार्यान्वयन र परिणाममा मात्र खुल्छ तर, निर्णय भने अघि नै गर्नुपर्छ ।

यसर्थ व्यवस्थापकीय निर्णय प्रक्रिया (मेनेजरियल डिसिजन मेकिंग)भनेको कन्क्लुजन प्लस समथिंग हो । निष्कर्ष भन्दा थप केही हो । यहीँ थप केहीँ नै वास्तवमा निर्णय प्रक्रियाको सबैभन्दा महत्वपुर्ण भाग हो । अनि निर्णयकर्ताको विवेक, परिपक्वता, आँटको भुमिका यहीँ थप केहीँ मा रहेको हुन्छ ।
लेखक नेपाल बैंक लिमिटेड, प्रादेशिक कार्यालय, वीरगन्जका वरिष्ठ प्रबन्धक हुनुहुन्छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation