वातावरणमैत्री लगानीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्भेस्टमेन्ट बैंकको योजना सार्वजनिक

 अर्थ बुलेटिन संवाददाता   १७ पौष, २०७६



काठमाडौं । विश्वव्यापीरूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा सामाजिकरूपमा जिम्मेवार रहने आफ्नो निरन्तरको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रबद्र्धन गर्ने उद्देश्य सहितको बिशेष योजना ल्याएको छ ।

बैंकले ल्याएको साढे सातवर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’बाट  निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउने छन्, किनकी यो निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको छ । 

यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुनेमात्र नभइ यो योजना अन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायु अनुकूल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथाम सम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने छ, जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भाव सहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको छ ।

लगानीका क्षेत्रहरू विशुद्धरूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने (कार्बन न्युट्रिलाइजेसन) का दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तन सँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएका छन् ।

यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा  ५० प्रतिशत छुट प्राप्त गर्नेछन् र यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिनेछ ।
यो योजनाप्रति आम नागरिकहरूको समर्थनले हाम्रो समाज, राष्ट्र र समग्रमा विश्वमै व्यापक प्रभाव पर्ने बैंकको दाबी छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation