डलर सटहीमा कडाइ, विदेशीने रकममा भारी गिरावट

 अर्थ बुलेटिन संवाददाता   २३ पौष, २०७६



काठमाडौं । डलर सटहीमा कडाइ गरेपछि विदेशीने रकममा भारी गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा भ्रमण खर्च वापत ३४ अर्ब ९१ करोड रुपैयाँ  रहेको थियो । त्यसमध्ये १९ अर्ब ३४ करोड अध्ययनका लागि विदेश गएको थियो । तर, चालु आर्थिक वर्षको सोही चार महिनाको अवधिमा भ्रमण खर्च २५ अर्ब ९१ करोड रुपैयाँ लगेका छन । त्यसमध्ये १२ अर्ब १७ करोड अध्ययनका लागि विदेश गएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले विभिन्न कारण डलर सटहीको सुविधा कटौती गरिएको बताए। ‘पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो,’ उनले भने । राष्ट्र बैंकले डलर सटहीमा कडाइ गर्दै गत वर्ष शिक्षा, आप्रवासन, स्वास्थ्यलगायतका प्रयोजनका लागि अमेरिकी डलर ५ हजारभन्दा बढी माग गर्ने नेपालीले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था थियो ।

यस्तो प्यान नम्बर सटही माग गर्ने व्यक्ति वा निजको एकाघरका सदस्यमध्ये आमा वा बुबा कुनै एकको भए पनि सटही सुविधा प्रदान गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । मुलुकमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको र चालु खाता पनि अघिल्लो वर्षको तुलनामा बढेपछि राष्ट्र बैंकले डलर सटही सुविधामा कटौती गर्न राष्ट्र बैंक बाध्य भएको बताएको थियो ।

राष्ट्र बैंकले यसअघि कुनै पनि नेपाली नागरिकलाई भारतबाहेक तेस्रो मुलुक जाँदा २ हजार ५ सय अमेरिकी डलर दिँदै आएको थियो । त्यसलाई कटौती गर्दै अहिले कुनै पनि व्यक्तिले नगदमा १ हजार ५ सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा नपाउने व्यवस्था गरेको छ ।

 यसरी विदेशी जाने रकममा कमी आएपछि विदेशी विनियम सञ्चिती बढेको छ । राष्ट्र बैंकका अनुसार असारसम्म १० खर्ब ३८ अर्ब ९२ करोड कूल विदेशी विनिमयको सञ्चिती रहेको थियो । चार महिनाको अवधिसम्म अहिले त्यो सञ्चिती ६.२ प्रतिशतले बढेर ११ खर्ब ३ अर्ब १२ करोड पुगेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation