वैैदेशिक रोजगार बचतपत्र २०८२ बिक्री गर्दै राष्ट्र बैंक बार्षिक १० प्रतिशत व्याजदर कायम रहने

 अर्थ बुलेटिन संवाददाता   ३० चैत, २०७६



काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वैदेशिक  रोजगारी कै क्रममा रहेका र रोजगारीबाट फर्केकाहरुलाई लक्षित गरी ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यही बैशाख एक गते सोमबारबाट बार्षिक १० प्रतिशत व्याजदर कायम रहने गरी पाँच बर्षे अवधिको वैैदेशिक रोजगार बचतपत्र २०८२ बिक्री गर्न लागिएको हो । 

यसरी बिक्री गरिने बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य अन्र्तगत बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सकिने छ । बचतपत्र खरिदको लागि घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकम सम्म खरिद गर्न सकिने छ । 


राष्ट्र बैंकका अनुसार खरिद गरिएको बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने छ । बैशाख एक गते सोमबारदेखि बिसं २०७७ असार २१ गतेसम्म खरिद गर्न सकिने बचतपत्रको निष्काशन मिती २०७७ बैशाख २७, जेठ २७ गते र असार २७ गते तोकिएको छ । बचतपत्रको सावाँ भुक्तानी अवधि २०८२ बैशाख २८ गते, जेठ २८ गते र असार २८ गते तोकिएको छ ।

यो बचतपत्र खरिदको सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभुु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैक, सेञ्चुरी कर्मसियल बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफ प्राली सहितका ११ वटा संस्थाहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation