निर्यात व्यवसायीहरुद्वारा महासंघको नयाँ नेतृत्वलाई स्वागत

 अर्थबुलेटिन संवाददाता   १६ मंसिर, २०७७



काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले मंगलबार राजधानीमा एक कार्यक्रमका बिच निर्वाचित नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

शेखर गोल्छाको नेतृत्वमा निर्वाचित भएर आएका नयाँ पदाधिकारीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले निर्याललाई आफ्नो नेतृत्वले प्राथमिकतामा राख्ने विश्वास दिलाएका छन् । अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात व्यवसायलाई विकास गर्नेगरि महासंघले आफ्नो भिजन निर्माण गर्न लागेको छ ।’

उनले निर्यातमा भएका समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । जसमा व्यवसायको लागत, निर्यात प्रोत्साहन, नीतिगत सुधार र व्यवस्थामा ध्यान दिने स्पष्ट पारे । उनले आफ्नो नेतृत्वमा पक्ष विपक्ष नहुने र एकजुट भएर उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्ने भन्दै अर्थतन्त्रको विकासमा भुमिका खेल्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निर्वाचन पछि महासंघमा पक्ष विपक्ष सकिएको र आफूले निजी क्षेत्रको र उद्योगी व्यवसायीको साख बढाउन कुनै कसुर बाँकी नराख्ने बताए । ‘मैले बैंकको बोनसबाट पाउने रकम भन्दा व्यवसाय धेरै ठूलो छ । त्यसैले बैंकको स्प्रेड दर कमगर्न मेरो पहल हुनेछ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने ।

उनले निजी क्षेत्रका समस्या पहिचान र निराकरणमा आफूले एक ईँटा थप पर्ने प्रतिबद्धता व्यक्त गरे । वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले अहिले नीतिगत स्पष्टता नभएको भन्दै त्यसले लगानीमा नै असर पार्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता नीतिगत स्पष्टता कायम गराउन सरकारसँग सहकार्य गर्ने र लगानीमैत्री वातावरण बनाउने बताए ।

स्वागत कार्यक्रममा जिल्लातर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले जिल्ला तहमा धेरै समस्या भएको भन्दै त्यसको समाधानको लागि काम गर्ने बताए । त्यसैगरि एसोशिएट्स तर्फका उपाध्यक्ष रामचन्द्र सांघाईले आफूपनि धागो निर्यातक उद्यमी भएको भन्दै निर्यातको वृद्धिको लागि पूर्ण सहयोग फिनलाई गर्ने जानकारी दिए । कार्यक्रममा फिनका अध्यक्ष राम बहादुर गुरुङ्गले निर्यातलाई प्रबद्र्धन गर्न नयाँ नेतृत्वलाई आग्रह गर्दै व्यवसायीक हित अनुकुल नीति ल्याउन पहल गर्नुपर्ने बताए ।

फिनका महासचिव दुर्गा बिक्रम थापाले महासंघको १० वर्षे मार्गचित्र बनाउन सहयोगी भुमिका खेल्न तयार रहेको भन्दै महासंघमा पक्ष विपक्षको रुपमा काम गरेमा त्यसको विरोध गर्ने चेतावनी दिए । यो कार्यकालमा महासंघ एकजुट भएको हेर्न चाहेको भन्दै हालका अध्यक्ष शेखर गोल्छाको कामको गतिलाई साथ दिने बताए ।

फिनका उपाध्यक्ष शंकर पाण्डेले फिन र महासंघ एकअर्काका परिपुरक भएका भन्दै एफएनसिसिआईमा सफाई गर्नुपर्ने समय आईसकेको तर्फ संकेत गरे । उनले महासंघका रानीति ल्याउन नहुने भन्दै नीतिगत परिमार्जन गरेर हालको निर्यातलाई ५ गुणाले बढाउन सकिने जिकिर गरेका थिए ।

स्वागत कार्यक्रममा अन्य वक्ताहरुले पनि महासंघ नेतृत्वलाई एक ढिक्का भएर अगाडि बढ्न सुझाव दिएका थिए । उनीहरुले सरकारसँग सहकार्य गरि नीतिगत स्पष्टता गर्दै निर्यात व्यवसाय र उद्योगलाई प्रथामिकतामा राखेर अर्थतन्त्रको विकास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा वस्तुगत समुहतर्फका सबै निर्वाचित सदस्यहरुलाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation