चालु आर्थिक वर्षमा ५ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान

 अर्थबुलेटिन संवाददाता   १६ माघ, २०७७



काठमाडौं । चालु आर्थिक वर्षमा करिब ५ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको छ  । शुक्रबार अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले चालु आर्थिक वर्षमा ५ प्रतिशत सम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताएका हुन्  ।

अर्थमन्त्रालयका सचिव ढुंगनाले राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकमा  यस्तो बताएका हुन्  । यो आर्थिक वर्षको ६ महिनामा आर्थिक गतिविधि विस्तारित हुँदै गएको र राजस्व संकलनको स्थिति पनि गत वर्षकै लयमा फर्किएकाले अवको आर्थिक वृद्धिदर करिब ५ प्रतिशत हुन सक्ने देखिएको बताए ।

सरकारले यसवर्षको बजेट मार्फत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो । आर्थिक वृद्धिमा आएको कमिका कारण गरिबी निवारणमा सरकारले राखेको लक्ष्य भने प्रभावित हुने देखिएको छ । १२ लाख भन्दा बढी घरपरिवार गरिबीको रेखामुनी पर्न सक्ने सम्भावना अर्थमन्त्रालयले गरेको अध्ययनमा देखिएको पनि सचिव ढुंगानाले बताए ।

आर्थिक गतिविधि कमजोर भएको अवस्थामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा असर पर्ने देखिएको उनको भनाई छ । यसबाहेक मानिसको जीवनस्तर केही महँगो हुनसक्ने सम्भावना रहेको पनि बताए ।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि रोजगारी सिर्जना हुनेगरी उद्योग मन्त्रालय, गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र साना किसान लघुवित्त मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिराखेको सचिव ढुंगानाले बताए । यस्तै सहुलियतपूर्ण कर्जालाई बैंकका प्रत्येक शाखाबाट परिचालन गर्ने व्यवस्था मिलाइएको पनि बताउनुभयो । कोभिड–१९ बाट प्रभावित क्षेत्रमा ७७ अर्ब भन्दा बढी पुनरकर्जा परिचालन भइसकेको समेत बताए ।

यसबाट विस्तारै सबै क्षेत्र पुरानै लयमा फर्किने पनि बताए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोभिड अगाडि गरिबी निवारणको सन्दर्भमा ठिक दिशामा काम रहेको तर कोभिडका कारण असर परेको बताए ।

१५ औं योजनामा बहुहायामिक गरिबी ३८ दशमलव ६ बाट ११ दशमलव ५ मा झार्ने र मौद्रिक गरिबी १८ दशमलव ६ बाट ९ दशमलव ५ मा झार्ने लक्ष्य लिएको तर अहिले प्रभावित भएको बताए । कृषि र शिक्षा क्षेत्रमा लक्ष्य अनुसार प्रगति हुन नसकेपनि स्वास्थ्य क्षेत्रमा धेरै नै सुधार भएको बताए ।

यस्तै कोभिडको असर विस्तारै सामान्य अवस्था तर्फ फर्केकाले यस वर्ष करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हुन सक्ने देखिएको उपाध्यक्ष कँडेलले बताए । उत्पादनमुलक उद्योग तर्फ अझै असर परिरहेकोले आर्थिक वृद्धिदर प्रभावित हुने देखिएको उनको भनाई छ ।

बैठकमा राष्ट्रिय सभा सदस्यहरुले देशमा गरिबी बेरोजगार र भ्रष्ट्राचर बढ्दै गएका कारण दिगो विकासका लक्ष्यहरु प्राप्त हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले कोभिडको असरसँगसँगै गरिबी, बेरोजगारी र भ्रष्ट्राचार एकैसाथ बढ्दै गएको बताए । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझिले दिगो विकासको लक्ष्यमा पुग्ने भनिएपनि सरकारले सोही अनुसकारको काम गर्न नसकेको बताए । दिगो विकासको लक्ष्य सम्म पुग्ने योजना सरकारसँग नरहेको पनि बताए ।

आफ्नो जिल्लामा मात्रै बजेट केन्द्रीत गर्ने मन्त्रीहरुको प्रवृतिले दिगो विकास लक्ष्यमा पुग्न नसकिने पनि राष्ट्रिय सभा सदस्यहरुले बताएका छन् । यस्तै स्थानीय जनप्रतिनिधिहरुले पनि प्रत्येक विकास निर्माणका कामको ठेक्का आफै लिने भएकाले विकासका काम प्रभावित भएको उनीहरुको भनाई छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation