नेप्से निरन्तर उकालो यात्रामा नैकारोबार रकम साढे ७ अर्ब नजिक

 अर्थ बुलेटिन   १ मंसिर, २०७८



काठमाडौं । बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर बृद्धि गर्दै दोहोरो अंकमा पुर्याएको भए पनि शेयर बजारमा त्यसको उल्टो प्रभाव पर्ने क्रम बुधवार पनि रोकिएन । 

फलतः यस साताको सोमवार देखि उकालो लाग्न आरम्भ भएको नेप्से परिसूचक आज बुधवार समेत निरन्तर उकालो नै लागेको छ । नेप्से परिसूचक मात्रै होइन कारोवार रकमले समेत उकालो यात्रालाई निरन्तरता दिइरहेको छ । 

तिहार सकिएपछि ४ दिन लगातार घटेको बजार सोमवारदेखि निरन्तर बढ्दा लगानीकर्ता उत्साहित भएका छन् । 

बुधवार नेप्से सूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ३.९४  अंकले बढेको छ ।

मंगलवारको तुलनामा आज नेप्से संगै कारोबार रकम समेत सुधार भएको छ । बुधवार कारोबार रकम करिब साढे ७ अर्ब नजिक पुगेको छ । आज १ अर्ब १९ लाख ४३ हजार ८५८ कित्ता शेयरको खरिद विक्रि हुँदा रु ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८१९.६४ रकमको कारोबार भएको छ ।

यस दिन २ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ४ वटा कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । उच्च दरमा शेयरमूल्य बढ्ने कम्पनीमा पन्चकन्या माई हाइड्रोपावर लिमिटेड र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रहेका छन् ।

यस्तै, बुधवार वोटलर्स नेपाल र महालक्ष्मी विकास बैंकको शेयर मुल्य करिब साढे सात प्रतिशतले घटेको छ । 

यस साता पहिलो कारोबार दिन आइतवार बजार १.३३ अंकले घटेको भएपनि सोमवार २६.४४ अंकले बढेको थियो । त्यस यता बजार निरन्तर बढिरहेको छ । सोमवार बजार करिब २६.४४ अंक र मंगलवार नेप्से परिसूचक ७० अंकले बढ्यो । 

यस्तै, यो प्रभाव नेप्से परिसूचकमा मात्रै होइन कारोबार रकममा पनि प्रत्यक्ष देख्न सकिन्छ । आइतवार ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमवार ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यो क्रम मंगलवार झनै बढेर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६.७५ रुपैयाँको कारोबार भएको थियो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation