

२ जेठ, २०८२ | 15 May, 2025
काठमाडौं । नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।
विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।
राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८९ पैसा तिर्नुपर्नेछ ।
पछिल्लो समय रुस ,युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ ।
डलरको भाउभन्दा महङ्गो हुने युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ ।
घट्यो सुनचाँदीको भाउ
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको हो । तेजाबी सुन भने प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।