काँग्रेस पोखरा महानगरको ‘महानगर सम्मेलन’ तयारी पुरा

 अर्थ बुलेटिन   २५ भदौ, २०८०



पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकाले आईतबार नेपाली कांग्रेस वडा ईकाई सभापति र निर्वाचित वडा अध्यक्ष सहितको संयुक्त बैठकको आयोजना गर्यो ।

कांग्रेस पोखरा महानगर कार्यसमितिको आयोजनामा आउदो २७ गते पोखरामा हुन गईरहेको दोश्रो महानगर सम्मेलनको तयारीका बारे छलफल गर्न बैठकको आयोजना गरेको हो ।

बैठकमा सम्मेलनको पुर्व तयारी र महत्वपुर्ण राय, सल्लाह र सुझाव संकलन गरिएको थियो ।

बैठकमा ईकाई सभापतिहरुले राखेको भातृसंस्थाको पछिल्लो समयमा देखिएका समस्याका बारेमा प्रश्नको जवाफ दिदै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीभित्र विधान सर्वेसर्व हुने धारणा व्यक्त गरे । सभापति बरालले भने ‘विधान बमोजिम नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डे र नेविसंघका सभापति गौरव बराल नै हुन्।’

पार्टी भित्र स्वार्थका लागि गुट उपगुट निर्माण गरी क्षणिक रमाईलोमा लाग्नेहरुको पछि नलागि विधान बमोजिम संयमित रुपमा लाग्न सबै ईकाई सभापतिहरुलाई आग्रह गरे । साथै सभापति बरालले महानगर सम्मेलनको सफलताको शुभकामना सहित सहकार्यका लागि जिल्ला समिति तयार रहेको विचार व्यक्त गरे ।

बैठकमा बोल्दै पोखरा महानगरपालिका संसदीय दलका नेता दिवसमान प्रधानांगले नेकाबाट निर्वाचित वडा अध्यक्षहरु विकासका लागि एक हुनुको विकल्प नरहेको बताए । महानगर सम्मेलन भव्य रुपमा सम्पन्न गर्नका लागि आफु सधै तयार रहेको बताउदै भने ‘महानगर सम्मेलनका लागि सक्दो सहयोग गर्न तयार छु ।’ साथै प्रधानांगले पार्टीभित्र अनुशासनहिनता मौलाउदै गएकोप्रति दुख व्यक्त गर्दै वेतेथि छाडी सम्मानको संस्कारमा जोड दिए ।

बैठकमा बोल्ने वक्ताहरुले प्रत्येक वडा र टोलहरुमा कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिनु पर्ने, पार्टीप्रति जिम्मेवारीका साथै अनुशासनका पाठ सिकाउनु पर्ने आवश्यकता पनि औल्याएका थिए ।

यसैगरी बैठकमा बोल्ने अधिकांश वक्ताहरुले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि र संगठन मजबुद बनाउन स्वार्थभन्दा माथि उठेर पार्टी हितका लागि लाग्नु पर्ने साथै एकले अर्काको सम्मान गर्न सक्नु पर्ने आवश्यकता समेत औल्याईएको महानगर सम्मेलन प्रचारप्रसार संयोजक तथा सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

केन्द्रीय महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गईरहेको महानगर सम्मेलनमा ईकाई सभापतिहरुले कार्य प्रगतिवेदन, पार्टीका नीतिगत समस्या, पार्टी सुदृढिकरण लगायतका विविध विषयमा छलफल गरिने महानगर सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

महानगर सम्मेलनको तयारी लगभग सकिएको र कार्यक्रम पोखरा उधोग वाणिज्य संघको सभाहलमा ११:३० बजेदेखि संचालन हुने प्रवक्ता धनन्जय पौडेलले जानकारी दिए ।

सभापति सुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव टुवराज बॅास्तोलाले गरेका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation