११ माघ, २०८१ | 24 Jan, 2025
काठमाडौं । बुधवार सामान्य करेक्सन भएको शेयर बजार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक ३२.०२ अंक बढेर २५६८.१३ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन करिब साढे २७ अंकको करेक्सन भएको बजार, यस दिन पुनः बढेर बन्द भएको हो ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन १६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको १ लाख ५९ हजार ७५७ पटकको कारोबारमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँबराबरको ३ करोड ५५ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस साताको अन्तिम दिन अर्थात भोली शुक्रवार नेपाल राष्ट्र बैंकले लगानीमैत्री मौद्रिक निती ल्याउने चर्चा परिपचर्चा चलेसंगै बजार उकालो यात्रामा अघि बढेको विश्लेषकहरुको भनाई छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.८३ प्रतिशत बढेको छ। त्यसतै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।