माधव–झलनाथलाई ओलीको ‘सर्पराइज’ २३ केन्द्रीय सदस्यसहित सातै प्रदेशमा इन्चार्ज तोकिए

 अर्थबुलेटिन संवाददाता   २८ फागुन, २०७७



काठमाडौं । नेकपाले एमालेले  सातै प्रदेशमा पार्टीका इन्चार्जसहित केन्द्रीय कमिटीमा पनि मनोनित गरेको छ ।  शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकबाट एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्  । त्यस्तै, अध्यक्ष ओलीले  नेकपा  सातै प्रदेशमा इन्चार्ज पनि  तोकेका छन् । 

नेपाल पक्षधरहरु अनुपस्थित बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।एमालेका मुख्य सचेतक विशाल भट्टराईले केही विभागीय र भौगोलिक जिम्मेवारी हेरफेर गरिएको बताए । बैठकले महाधिवेशनको मितिसमेत तोकेको उनले सुनाए । उनका अनुसार ०७८ मंसिर २ देखि ८ मा एमालेको महाधिवेशन गर्ने निर्णय भएको छ । यस्तै रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई पनि एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ ।

स्रोतका अनुसार रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । पूर्वमाओवादी सदस्य रहेका उनी नेकपा विघटनका बाबजुद एमालेमै रहने निर्णयमा पुगेका थिए ।

एमालेले प्रदेश १ मा सुवास नेम्वाङ र प्रदेश २ मा सत्यनारायण मण्डललाई प्रदेश इन्चार्ज तोकेको छ । यस्तै, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ ।

यस्तै, एमाले प्रचारविभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ भने संगठन विभागको प्रमुखमा विष्णु पौडेल, विदेश विभागको प्रमुखमा डा. राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक चैत ७ गते बस्ने जनाइएको छ ।  सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation